नारायणगढ–मुग्लिन सडकमा पुलवाटै सवारी साधन खसेर ज्यान जाने क्रम बढ्दो

859
views

नवलपुर साउन– २८  नारायणगढ मुग्लिन सडकमा जीर्ण पुलका कारण घटना बढ्दो क्रममा रहेको छ । सडक निर्माण पूरा भए पनि यहाँ रहेका जीर्ण पुलहरूको मर्मत सुधार तथा पुनर्निर्माण नगरिँदा पुलवाटै सवारी साधन खसेर ज्यान जाने र अङ्गभङ्ग हुने क्रम बढिरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक वेदप्रसाद गौतम सडकको पुनर्निर्माण भए पनि सडकमा रहेका पुल जीर्ण हुँदा दुर्घटना भइहेको बताउनुभयो ।
सडक पुर्निनर्माणसँगै पुलको पनि पुनर्निर्माण हुनुपर्ने हो तर त्यसो नहँदा अहिले यो सडकको यात्रा जोखिम रहेको छ । गत एक वर्षमा यो सडकमा भएका ५१ दुर्घटनामा २८ जनाको मृत्यु र १३१ जना घाइते भएका छन् । यसमा यहाँको जीर्ण पुल यसका प्रमुख कारण हो ।
सन् २०१५ को अप्रिलमा सम्झौता भई पुनर्निर्माणको काम सकिनै लागेको यो सडकमा १८ वटा पुल रहेका छन् तर यी सबै पुल जीर्ण र साँघुरा छन् । अझै कतियपय पुल त आफै भासिन थालेका छन् भने कतिपयको रेलिङ्ग पनि छैन । प्राविधिकहरूका अनुसार यी पुलको चौडाइ ६ मिटरभन्दा कमका छन् । दुई लेनको सडकका लागि यी साह्रै साँघुरा हुन् ।
नारायणगढ मुग्लिनको सडकको स्तरवृद्धिसँगै कम्तीमा पनि यो सडकमा अब ११ मिटर चौडाइ भन्दा वढीका पुल बनाइनुपर्छ”, एकजना प्राविधिकको सुझाव छ ।
नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख रोहित विसुराल नारायणगढ मुग्लिन सडकका पुल जीर्ण र साँघुरा रहेको स्वीकार्नुहुन्छ ।
“पुल साँघुरा र जीर्ण भएकै कारण १८ वटा पुलमध्ये अहिले चार वटाको पुनर्निर्माणको काम शुरु भइसकेको छ” उहाँले भन्नुभयो, “अरु बाँकी १४ वटा पुलका लागि पनि पनुर्निर्माणका लागि बजेटको ब्यवस्था गर्न माग भइरहेको छ ।”
नारायणगढ मुग्लिन सडकका जलविरे, दासढुङ्गा, खानी र मौरी पुलको पुनर्निर्माणको काम भइरहेको हो । यसका लागि विश्व बैङ्कले नेपाल सरकारलाई २५ करोड रुपियाँ सहयोग गरेको छ । यसका साथै अब १४ वटा थप पुल वनाउनका लागि २ अर्व २० करोड रुपियाँ वजेट आवश्यक रहेको आयोजनाले जनाएको छ ।