‘कर वृद्धि योजना वासिङ्टनलाई प्रत्युत्पादक’

1029
views

सांघाई २८ साउन । चिनियाँ समानमा कर वृद्धि गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध चीनले चालेको कदम वासिङ्टनलाई प्रत्युत्पादक सावित भएको अनुमान गरिएको छ ।

चिनियाँ सामग्रीमा ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको उद्देश्य नै बेइजिङमाथि ‘अमेरिकी सामान खरिद गर्न’ दबाब दिनु थियो तर अमेरिकाबाट वार्षिक रूपमा करोडौं मूल्यको मासु आयात गर्ने चीनको रोजाइमा आजभोलि अरु नै देश पर्न थालेका छन् ।

पछिल्लो समय अमेरिकी कर वृद्धिको प्रतिशोध स्वरुप चीनले अमेरिकाबाट आयात हुने सुँगुर र गाईको मासुमा करवृद्धि गरेको छ । त्यही कारण चिनियाँ बजारमा अमेरिकी मासुको मूल्य आकासिएको छ । चिनियाँ आयातकर्ताले स्वाभाविक रूपमा अरु नै स्रोत खोजी गर्न थालेका छन्, र यो प्रवृत्ति अन्य अमेरिकी बस्तुमा पनि देखा पर्न थालेको छ ।

‘चिनीया कर वृद्धिका कारण अमेरिकी बस्तु ज्यादै महँगो भएको छ र अहिले हामी अरु नै मुलुकबाट आवश्यक सामान आयात गर्न थालेका छौं,’ मासु कम्पनी पिएमआई फुड्सका व्यवस्थापक झाङ लिहुइलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । ‘हामीले आजभोलि अस्ट्रेलिया, दक्षिण अमेरिका र क्यानडाबाट मासु आयात गर्न थालेका छौं,’ उनले बताए ।

पिएमआई फुड्सले बेइजिङले करवृद्धि गर्न थालेसँगै अमेरिकाबाट सुँगुरको मासु आयात घटाएपछि अमेरिकी मासुको मूल्य एकाएक बढेको छ । कर वृद्धिको लडाइँका कारण व्यापारको विश्वव्यापी परिदृश्यमै परिवर्तन ल्याउने सम्भावना देखिएको छ र यसबाट अरु मुलुकलाई फाइदा पुग्नेछ, झाङले बताएका छन् । ‘चिनीया बजार निश्चित रूपमै प्रतिस्थापन हुनेछ,’ झाङलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।

विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको व्यापारिक युद्धको परिणाम फैलिदै गएमा त्यसको असर प्रक्षेपण गर्न मुस्किल हुने बताइएको छ । तर विश्लेषकहरुले अमेरिकी निर्यातकहरुले चिनियाँ व्यवसाय गुमाउने खतरा औंल्याएका छन् । अमेरिकाले जुन महिनामा मात्र करिब १४ करोड अमेरिकी डलर बराबरको मासुजन्य बस्तु आयात गरेको थियो जुन अमेरिकाबाट हुने कूल मासुजन्य बस्तुको निर्यातको करिब १० प्रतिशत हो ।

‘चीनले मुख्य रूपमा मासु, सोयाबिन, गहुँ र पेट्रोकेमिकल जस्ता बस्तुको आयातमा कर वृद्धि गरेको छ किनभने चीनको विश्वासमा यी बस्तु विश्व बजारबाट सहजै आपूर्ति गर्न सकिन्छ,’ क्यापिटल इमोनोमिक्समा कार्यरत जुलियन इभान्स–प्रिटचार्डलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।