कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग

557
views

सुर्खेत, २८ साउन । कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग भएको पाइएको छ । गत आर्थिक वर्ष २०७४ र ०७५ मा कर्णाली प्रदेशमा खाद्यान्न अपुग भएको पाइएको हो ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्रालयले दिएको तथ्याङ्कले गत वर्षमात्रै कर्णालीलाई १८ हजार ४०७ मेट्रिक टन खाद्यान्न अपुग भएको देखाउँछ ।

तथ्याङ्कअनुसार यस प्रदेशका रुकुम, सल्यान र सुर्खेतबाहेक अन्य सातवटै जिल्लामा वार्षिक खाद्यान्न अपुग हुने गरेको मन्त्रालयका प्राविधिक सहायक दीपेन्द्र श्रीवास्तवले जानकारी दिए ।

‘आव ०७४÷०७५ रुकुमले धान गहुँ, मकैलगायतका उत्पादित बाली आफूले खाएर दुई हजार ६६४ मेट्रिक टन सञ्चित गरेको छ भने सुर्खेतले पाँच हजार ४०५ मेट्रिक टन खाद्यान्न सञ्चित गर्न सकेको छ,’ प्राविधिक सहायक श्रीवास्तवले भने । सबैभन्दा बढी सल्यान जिल्लाले १३ हजार ६३० मेट्रिक टन खाद्यबाली सञ्चित गरेको उनले बताए ।

त्यस्तै, गएको वर्षमै दैलेखमा एक हजार ५३०, डोल्पामा दुई हजार ६६६, जाजरकोमा तीन हजार ५९४, जुम्लामा चार हजार १६६, मुगुमा पाँच हजार १०२ र हुम्लामा आठ हजार ४१५ मेट्रिक टन खाद्यान्न अपुग रहेको उनले जनाए ।

प्राविधिक सहायक श्रीवास्तवका अनुसार सो वर्ष सबैभन्दा बढी कालीकोटमा १४ हजार ६३३ मेट्रिक टन खाद्यान्न अपुग भएको थियो । यसलाई केलाउँदा साविकका कर्णाली आयातित खाद्यान्नमा बढि निर्भर देखिन्छ ।

साविकको कर्णालीका नागरिकलाई प्रतिव्यक्ति १९१ किलो र रुकुम सल्यान, सुर्खेत, दैलेख र जाजरकोटलाई २०१ किलो खाद्यान्न आवश्यक पर्दछ । पहाडी तथा मध्य पहाडी जिल्ला भन्दा हिमाली जिल्लामा प्रतिव्यक्ति वार्षिक खाद्यान्न दर कम निर्धारण गरिनुमा काम गराई र खाद्यान्न उपलब्धता भएको बताइएको छ ।

कर्णालीमा खाद्यान्न आयातको अवस्थाबाट मुक्त हुन नसक्नुमा पछिल्लो समयमा विदेशिने युवाको सङ्ख्या बढ्नु, कृषि पेशालाई घृणाका रुपमा हेरिनु, वर्षा कम हुनु, बसाइँसराइ, अव्यस्थित शहरीकरण र जलवायु परिवर्तनलगायत कारण रहेको मन्त्रालयका कृषि प्रसार अधिकृत पूर्णबहादुर थापा बताउँछन् ।

विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार १३ लाख २५ हजार जनसङ्ख्या रहेको यो प्रदेशमा वृद्धि भएर ०७४ सालसम्म १८ लाख चार हजार ७२० जनसङ्ख्या पुगेको अनुमानित तथ्याङ्क मन्त्रालयको प्राविधिक शाखामा भेटिन्छ ।