बन्दका कारण देशैभरको जनजीवन प्रभावित

1005
views

बुटवल – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका कारण देशैभरको जनजीवन प्रभावित बनेको छ । आज विहान रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पथ्थरडाँडामा एउटा यात्रु बाहक बसमा पेट्रोल बम प्रहार हुँदा एक जना सामान्य घाइते भएका छन् ।

पोखराबाट भैरहवा आउँदै गरेको लु १ ख ६६३१ नम्बरको बसमा अज्ञात व्यक्तिले पेट्रोल भरेर आगो लगाइएको बोत्तल प्रहार गर्दा कास्की लेखनाथ–१ का रोशन बहादुर थापा सामान्य घाइते भएका हुन् ।

थापाको हातमा सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी नायव निरिक्षक युवराज पाण्डेले बताए । गुडीरहेको बसमा बिहान साढे ४ बजेतिर आक्रमण भएको र संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी कुमोध ढुङ्गेलले बताए ।

यस्तै सोमबार साझ बुटवलको पेन्सन क्याम्पमा अज्ञात समूहले बम बिस्फोट गराउँदा सामान्य क्षती भएको छ । सर्वसाधारणलाइ तर्साउन सालझण्डी क्षेत्रमा पनि नक्कली बम राखिएको थियो ।