दश वर्षपछि डीपीआर तयार, ७७ करोड रुपैयाँ बजेट आवश्यक

901
views

बेनी २९ साउन । धवलागिरि गाउँपालिका–७ ताकममा (डीपीआर) तयार भएको छ । घनाबस्ती विकास कार्यक्रम लागू भएको १० वर्षपछि बल्ल विस्तृत परियोजना प्रतिवेदन (डीपीआर तयार भएको हो ।सन् २००८ मा साविक ताकम गाविसको ३ देखि ६ वडामा लागु भएको उक्त कार्यक्रम स्थानीयको विरोध, राजनीतिक बेमेल र पर्याप्त बजेट अभावका कारण अलपत्र बनेको थियो । स्थानीय तहको निर्वाचनपछि साविक ताकम गाविस एउटै वडामा समावेश भएको र सो परियोजनाको कार्यक्रम सबै क्षेत्रमा सञ्चालन गर्ने सहमतिपछि सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले डीपीआर तयार पारेको हो ।

पहिले सोही विषयमा असन्तुष्ट बनेका स्थानीयलाई पनि समेट्ने गरी डीपीआर निर्माण गरिएको भवन डिभिजनका इन्जिनियर गणेश महर्जनले जानकारी दिए । घनाबस्तीका लागि १० वर्षमा ताकममा सामुदायिक भवन र ढल निकासको काम भएपनि उपभोक्ता समितिले समयमै काम गर्न नसकेको भन्दै विरोध जारी छ ।

डीपीआरले भौतिक संरचना निर्माण र जग्गा व्यवस्थापनमा गरी ७७ करोड रुपैयाँ बजेट आवश्यक पर्ने निष्कर्ष निकालेको छ । गाउँपालिका र स्थानीयको सहमतिमा डीपीआरलाई अन्तिम रूप दिइएको भवन डिभिजन कार्यालयले जनाएको छ ।

गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले अलपत्र परेको योजनालाई सर्वपक्षीय तवरले सञ्चालन गर्न डीपीआर तयार पारिएको बताउँछन् । ‘गाउँपालिकासँग मिलेर साविक ताकम गाविसका ताकम, धारापानी, मच्छिमलगायत बस्तीलाई समेटेर फरक–फरक किसिमका संरचना निर्माण गर्ने प्रस्ताव गरिएको छ ।