१७ जिल्लामा बम आतंक, २६ बन्दकर्ता पक्राउ

1491
views

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको बन्दमा सहभागी भएको आरोपमा देशभर २६ जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बन्दकर्ताले १७ जिल्लामा नक्कली र सक्कली बम राखेर आंतक सिर्जना गरेका छन् ।

प्रहरी प्रवक्ता शैलेश थापाले दिएको जानकारी अनुसार ८ जिल्लाका सार्वजनिक स्थानमा नक्कली बम राखिएको थियो भने ९ जिल्लामा राखिएका सक्कली बम प्रहरीले डिस्पोज गरेको थियो ।

प्रहरीले काठमाडौंमा ४ वटा नक्कली र एक सक्कली बम सार्वजनिक स्थानमा फेला पारेको थियो । त्यस्तै भक्तपुरमा २ सक्कली बम र ललितपुरमा ६ नक्कली र १ सक्कली बम निस्क्रिय पारिएको थियो ।

प्रहरीले उपत्यकामा बम बोकेर हिँड्ने दुईसहित सात जनालाई पक्राउ पगरेको जनाएको छ ।

झापाबाट नेकपाका मेचीब्युरो सदस्य राम दास र असल लिम्बु सहित नेकपा निकट अखिल (क्रान्तिकारी) का काठमाडौँ क्याम्पस जिल्ला अध्यक्ष उषाकिरण र जिल्ला सचिव तारा सन्ज्याल, ललितपुरबाट कुमार सिलवाल, चन्द्र परियार, जयराम श्रेष्ठ रहेका छन् । धादिङबाट विद्यार्थी राजु श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको छ ।

यसैगरी नेकपा रुकुममा ५ जना नेकपा सम्बद्ध कार्यकर्ता र कैलाली सुखड नगरपालिकाका इन्चार्ज लगायतका कार्यकर्ता पक्राउ परेको जनाइएको छ ।