पहिरोमा पुरिएर एकै घरका दुईको मृत्यु

1396
views

बागलुङ साउन –३० लगातार परेको वर्षाका कारण पहिरो खस्दा निसीखोला धुसौराका एकै घरका दुई जनाको पुरिएर मृत्यु भएको छ ।

निसीखोला–३ को बोहोरा गाउँस्थित धुसौरा भन्ने स्थानमा खसेको पहिरोले स्थानीय मानबहादुर शाहीको घर पुरिदा शाहीकी ६५ वर्षीया श्रीमती धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली शाही पुरिएको ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताउनुभयो।

पुरिएर मृत्यु हुनेमा एकै घरका सासु बुहारी हुन् । पुरिएपछि स्थानीय बासिन्दा, प्रहरी र सेनाको खोजीपछि शव निकालिएको थियो । बिहान पुरिएका उनीहरुको दिउँसो साँढे तीन बजे मात्र शव भेटिएको थियो। मृतक डल्लीका श्रीमान भारतमा रोजगारी को शिलशिलामा गएका छन् ।

पुरिएका शाहीका ५ वर्षीय नाती विनोद सकुशल भेटिएका छन् । ‘पुरै शरिर नपुरिएकाले उनी बाँचेका हुन् । बोहोरा गाउँ स्वास्थ्य चौकीका प्रमुख टोपबहादुर चन्दले भने, बालकको सबै स्वास्थ्य परीक्षण गर्दा केही भएको छैन् ।

मंगलबार राति नै बोहोरा गाउँ र देविस्थानमा खसेका अरु पहिरोले थप ६ घरमा क्षति पुगेको छ । केही घरपरिवार पहिरोको डरले बिस्थापित भएर आफन्तकोमा बस्न गएका छन् ।