आज नागपञ्चमी- मुलढोकामा नागको तस्विर, बारी, कान्लाका थानमा पुजा

1172
views

काठमाडौं । हिन्दू धर्मावलम्बीहरुले आज नागपञ्चमी पर्व मनाउँदै छन् । घरको मुलढोकामा नागको तस्विर टाँसेर बारी, खेत, कान्लामा रहेका नागको थानमा पुजा अर्चना गरी नागपञ्चमी मनाईदै छ ।

प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार मनाउन थालिएके हो ।

घरको मुल ढोकामा नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

नागका अष्टकुल– अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको चित्रमा दूध, दही, अक्षता, फूल, दूबोले पूजा गरी दूध र लावाको नैवेद्य चढाई घरको मूल ढोकामाथि टाँस्ने चलन छ ।

नागको पूजाले धनधान्य र सुख समृद्धि प्राप्त हुने, दैविक, भौतिक र प्राकृतिक आपत्ति र अनिष्ट नाश हुने र कालसर्पजस्ता योग पनि नष्ट हुने विश्वास गरिन्छ ।