चीन–अमेरिकाबीच व्यापार वार्ता दुई सातापछि

1169
views

काठमाडौ । चीन र अमेरिकाबीच व्यापार वार्ता हुने भएको छ । यसै महिनाको अन्त्यमा दुई देशबीच शीर्ष तहमा व्यापारिक वार्ता हुन लागेको अधिकारीहरूले बताएका छन् । दुई सातापछि हुने व्यापारसम्बन्धी वार्ताका लागि अगस्टमा एकजना वरिष्ठ मध्यस्थकर्तालाई संयुक्त राज्य अमेरिका पठाउने चीनको वाणिज्य मन्त्रालयले जनाएको छ । दुवै मुलुकबीच व्यापार द्वन्द्व चर्किएपछिको यो पहिलो उच्चस्तरीय वार्ता हो ।

चिनियाँ उप–वाणिज्यमन्त्री अमेरिका जाँदै
अमेरिकाको निमन्त्रणामा उप–वाणिज्यमन्त्री वाङ साउवेनको नेतृत्वमा एक प्रतिनिधिमण्डल अमेरिका जाँदै छ । अन्तराष्ट्रिय व्यापार मध्यस्थतासम्बन्धी प्रतिनिधिसमेत रहेको वाङ नेतृत्वको टोलीले अमेरिकी अर्थ मन्त्रालयका वरिष्ठ अधिकारी डेभिड माल्पाससँगको टोलीसँग भेटघाट गर्नेछ । ‘चीन एकपक्षीय व्यापार र संरक्षणवादी अभ्यासको विपक्षमा छ । कुनै पनि किसिमबाट एकपक्षीय व्यापार अवरोधका उपायहरू स्वीकार्य हुँदैन । चीन समानता र सम्मानका आधारमा गरिने वार्ता र सञ्चारमा विश्वास गर्दछ,’ चीनको वाणिज्य मन्त्रालयले भनेको छ ।

बारम्बार वार्ता
अमेरिकी वाणिज्यमन्त्री विल्बर रसले गत जुनमा बेइजिङमा चिनियाँ उप–प्रधानमन्त्री लिउ हेसँग भेटवार्ता गरेका थिए । तर, सो वार्ता दुई देशबीचको तनाव कम गर्न असफल भएको थियो । बरु, जुलाईदेखि लागू हुने गरी अमेरिकाले ३४ अर्ब डलरबराबरको चिनियाँ सामानमा करवृद्धि गर्ने घोषणा गरेको थियो । बैठकपछि पनि बेइजिङ र वासिङ्टनले एक–अर्का मुलुकविरुद्ध अर्बौं डलरका वस्तुमाथि करवृद्धि गर्ने घोषणा गरेका थिए ।

व्यापार युद्ध
दुई देशबीच व्यपारिक युद्धको अवस्था आएको विज्ञहरूको भनाइ छ । व्यापार युद्धले विश्व अर्थतन्त्रलाई नै असर पार्ने उनीहरूले बताएका छन् । बेइजिङले समेत अमेरिकी सामानमा करवृद्धि गर्ने प्रतिक्रिया दिएको छ । वासिङ्टनले २०० अर्ब अमेरिकी डलरबराबरका चिनियाँ सामानमा कर लगाउने चेतावनी दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन समयमै नसुध्रिए विगतमा १० प्रतिशत तोकिएको करवृद्धिलाई बढाएर २५ प्रतिशत पु¥याउने चेतावनी दिएका छन् ।

चीनले पनि ६० अर्ब अमेरिकी डलरबराबरका अमेरिकी सामानमा करवृद्धि गर्ने चेतावनी दिइसकेको छ । दुवै मुलुकले अगस्ट २३ देखि लागू हुने गरी १६ अर्ब डलरबराबरका सामानमा फेरि करवृद्धि गर्ने योजना सार्वजनिक गरिसकेका छन् ।