राउटे समुदायमा बदलिदो जिवनशैली

1974
views

दैलेख, भदौ २ ओखलमा धान कुट्न व्यस्त राउटे युवा प्रकाशले एकैपटक जुम्ल्याहा सन्तान जन्माए । चार दिनकी सुत्केरीका लागि पोषिलो खानेकुरा धानको भात नै हुने भन्दै उनी धान कुट्नमै व्यस्त देखिन्छन् ।

कुखुराको मासु र झोल खुवाउनुपर्छ भन्दा उनले मानेनन् । सुत्केरी महिला र बच्चा अरूलाई देखाउन समुदायका अगुवाहरु मान्दैनन् । प्रकाशको उमेर करीब ३० वर्षको भए पनि उनकी श्रीमतीको उमेर करीब १७ वर्ष मात्रै पुगेको छ ।
गुराँस गाउँपालिका–१ बस्दै आएका राउटे समुदाय आफूहरूको तीन थर भएको बताउँछन् । कल्याल, स्ववंशी र रास्कोटी थर रहेको राउटे समुदायमा आफ्नो थरभन्दा बाहिरको युवा वा युवतीसँग मात्र विवाह गर्ने चलन भएकै कारण उमेर पुग्दा पनि अर्को थरको युवा वा युवती नभएपछि धेरै समय कुर्नुपर्ने बाध्यता छ ।
त्यही समस्यामा परेकी छिन् किशोरी गाजली राउटे पनि। मिल्दोजुल्दो युवा नभएका कारण अझैसम्म उनको बिहे भएको छैन । राउटे समुदायका महामुखिया महिनबहादुर शाहीका छोराको उमेर लगभग ३५ वर्ष पुगेको छ । अर्को समुदायकी करीब १३ वर्षीया युवतीसँग अबको एक वर्षपछि बिहे हुने तरखर रहेको अर्का राउटे सुरेन्द्र शाही बताउँछन् ।
फिरन्ते जीवन बिताउँदै आएका राउटेले पछिल्लो पटक परिचयपत्र बुझेका छन् । हरेक महिना भत्ता आउनुपर्ने माग गर्दै आएका उनीहरूले असार र साउन महिनाको भत्ता साउन अन्तिमसम्म पनि नपाएपछि मुखिया सूर्य नारायणले फोनबाट गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीलाई समयमै भत्ता नआएकाले मेरा जनता रिसाएको गुनासो गरेका छन् ।
आफूलाई जङ्गलको राजा ठान्ने उनीहरूमा केही परिवर्तनका सङ्केत देखिन थालेको छ । खोला नजिक बस्ने कुवा वा खोलाको पानी सजिलै प्रयोग गर्ने यो समुदायलाई अहिले शुद्ध खानेपानीको व्यवस्थापन गरिदिएपछि पाइपमा आएको पानी पिउन थालेका छन् । सरसफाइ गर्नुुपर्दछ भन्नेतर्फ उनीहरूको ध्यान गएको छ । जडिबुटीकै भर पर्ने यो समुदाय अहिले औषधि सेवन गर्न र घाउचोट लागेको ठाउँमा औषधि गर्न पनि तत्पर छन् । सबै समान खरिद गरेर बिक्री केन्द्र स्थापना गरिदिएपछि समुदायले निर्माण गर्ने कोशी, मदुस र अन्य सामान बेच्न बजार धाउनुपर्ने समस्या पनि अहिले समाधान भएको छ । उक्त गाउँपालिका र स्थानीय सामाजिक सेवा केन्द्रबाट परिवर्तनका लागि पहल थालिएको छ ।
राउटेका बालबालिका सधैँजसो जोखिममा हुने समस्या बढ्दै जान थालेपछि अहिले गाउँपालिका र सामाजिक सेवा केन्द्रले उनीहरूको बस्ती नजिकै तीन सहजकर्ताको व्यवस्था गरेका छन् । स्वास्थ्य कार्याकर्तासँगै एक महिला र एक पुरुषले समुदायमा देखापर्ने ठूला खाले समस्याबारे बाहिरैबाट अवलोकन गर्ने, समाधानको उपाय खोजी गर्ने र गाउँपालिका अध्यक्षलाई खबर गर्ने गरेको स्थानीयवासीले जनाएका छन् ।
मदिरा ठूलो चुनौती
राउटे समुदायमा मदिरा सेवन निकै चुनौतीको रूपमा देखिएको छ । बस्तीमा प्रदान गरिएको सामान राउटे समुदायले निकै सस्तोमा बिक्री गर्ने र मदिरा सेवन गर्ने प्रचलन बढेपछि गाउँपालिकालाई राउटे बस्ती नजिकका व्यापारीलाई उनीहरूले बिक्री गर्ने कोषी मद्युसबाहेक अन्य सामान किनेमा पाँच हजारसम्म जरिवाना गराउने तयारी गरेको गाउँपालिका अध्यक्ष वलीको भनाइ छ ।
मदिरा सेवनले समुदायका युवती, बालबालिका र वृद्धहरूमा असर परेपछि बाहिरको मदिरा भन्दा घरमै बनाएको मदिरा र जाँडसम्म खान पाउने गरिएको छ । उक्त गाउँपालिकाको वरपर मात्र बसोवास गरुन् भन्ने उद्देश्यले उनीहरूले निर्माण गरेका सामग्रीहरु एकमुष्ट खरिद गरिदिने र बिक्री केन्द्रमार्फत् बिक्री गर्न थालिएको छ ।
गाउँपालिकाले राउटे समुदायलाई परिचयपत्र प्रदान गरेर स्थायी बासिन्दा बनाउने अभियान थाले पनि अहिले उनीहरूमा विवाद चुलिएको छ ।
समुदायको विवाद
महामुखियासहितका एकथरिले आफ्नो फिरन्ते परम्परा छोड्न नहुने गरेका छन् भने मुखिया सूर्यनारायलगायतका केही व्यक्ति बिस्तारै परिवर्तन हुन सकिने अवस्था आए सहजैरूपमा स्वीकार गर्नुपर्छ भन्नेमा छन् । युवा र युवती पनि परिवर्तन हुनुपर्छ भन्नेमा छन् । बेलाबेलामा युवा बस्ती छाडेर १५ दिनसम्म बाहिर बस्ने गरेकाले पनि उनीहरूमा परिवर्तनको सङ्केत देखिएको हो ।