खाद्यको चामल सस्तो हुँदा पहाडी जिल्लामा माग बढ्यो

1323
views

विराटनगर, ५, भदौ । पूर्वी पहाडका अन्य जिल्लामा खाद्य संस्थानको चामलको माग घट्दै गएपनि संखुवासभाको हटियागोलामा चामलको माग बढेको छ ।

दुईवर्ष अगाडि हटियागोला डिपोमा संस्थानको विराटनगरस्थित कोसी अञ्चल कार्यालयले ६५० क्विन्टल चामल आपूर्ति गर्दै आएकोमा गत आर्थिक वर्ष २०७४÷७५ मा बढाएर ८९० क्विन्टल पु¥याएको थियो तर चालु आवमा उक्त डिपोबाट एक हजार पाँच सय क्विन्टल चामलको माग आएको संस्थानको कोसी अञ्चल कार्यालयका वरिष्ठ सहायक हरि भण्डारीले बताए ।

सङ्खुवासभाको हटियागोला अझै पनि सडक यातायातासँग नजोडिएका कारण निजी क्षेत्रका व्यापारीले लैजाने चामलको तुलनामा खाद्यको चामल सस्तो पर्ने हुँदा माग बढी भएको उनको भनाई छ ।

हटियागोलाबाहेक अहिले संस्थानको विराटनगरस्थित कार्यालयले भोजपुरको सदरमुकाम भोजपुर बजार, सङ्खुवासभाको खाँदबारीमा चामल आपूर्ति गर्दै आएको छ । गत आव २०७४÷७५ खाँदबारीमा ७४८ क्विन्टल र भोजपुरमा सात सय क्विन्टल चालमा आपूर्ति गरेको थियो ।

उता भोजपुरकै हतुवागढीमा भने चार वर्षदेखि चामल आपूर्ति हुन सकेको छैन । चामल आपूर्तिका लागि पटक पटक टेण्डर आह्वान गर्दा पनि टेण्डर लाग्न नसक्दा उक्त स्थानमा संस्थानको आपूर्ति गर्न नसकेको विराटनगरस्थित कार्यालयका वरिष्ठ सहायक भण्डारीले बताए ।

संस्थानको विराटनगरस्थित कार्यालयले सुनसरी, धनकुटा, तेह्रथुृम र मोरङ कारागारलाई चामल आपूर्ति गर्दै आएको छ । गत आव २०७४÷७५ मोरङ कारागारमा दुई हजार २९८ क्विन्टल, सुनसरी कारागारमा तीन हजार ७७५ क्विन्टल, धनकुटा कारागारमा १०५ क्विन्टल र तेह्रथुम कारागारमा ६० क्विन्टल चामल आपूर्ति गरेको बताइएको छ ।