एसियाड भलिबलमा नेपाल चाइनिज ताइपेइसँग पराजित

782
views

काठमाडौं, ६, भदौ । जकार्तामा जारी १८औं एसियाली खेलकुदअन्तर्गत् भलिबलमा नेपाल चाइनिज ताइपेइसँग सोझो सेटमा पराजित भएको छ ।

बुधबार सम्पन्न खेलमा नेपाल २५–२३ २५–२१ र २५–१५ ले पराजित भयो । समूह ‘डी’मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् ।

नेपालले दोस्रो खेल भदौ ८ गते दक्षिण कोरियासँग खेल्ने त्यहाँ रहेका टोली प्रशिक्षक जगदीश भट्टले जानकारी दिए । हारका बाबजुद् नेपालले उत्कृष्ट प्रदर्शन गरेको प्रशिक्षक भट्टले बताए ।

‘चाइनिज ताइपेइ हामीभन्दा निकै बलियो टोली हो । हारे पनि हाम्रो प्रदर्शन उत्कृष्ट रह्यो’–उनले भने । एसियाडमा पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन् ।

नेपालको राष्ट्रिय भलिबल टोलीले ३२ वर्षपछि एसियाली खेलकुद (एसियाड) मा सहभागिता जनाएको हो । नेपाल भलिबलमा पछिल्लोपटक सन् १९८४ मा दक्षिण कोरियाको सिओलमा आयोजित एसियाडमा सहभागी भएको थियो । भलिबल राष्ट्रिय खेलसमेत हो ।

नेपाली टोलीमा क्याप्टेन इमबहादुर मगर, हरिबहादुर अधिकारी, ईश्वर थापा, दिनेशराज, गिरी, राज शेरचन, धनबहादुर भट्ट क्षेत्री, नरेन्द्र गिरी, मानबहादुर श्रेष्ठ, कुलबहादुर थापा, दीपकराज जोशी, भैरवबहादुर बम र विशालबहादुर विक छन् । प्रशिक्षकमा जगदीश भट्ट, लेस्ली दि जोन्जे र व्यवस्थापकमा भरतबहादुर शाह छन् ।