कालिमाटी तरकारी बजार खुला

1788
views

काठमाडौं, ६, भदौ । कालिमाटी तरकारी बजार बुधबारदेखि खुलेको छ । अनुगमनका क्रममा विरोध भएपछि गत सोमबारदेखि बन्द कालिमाटी तरकारी बजार बुधबारदेखि खुलेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट खटिएको अनुगमन टोलीलाई र्दुव्यवहार गरेपछि विवाद हुँदा काठमाडौँ उपत्यकाको मुख्य तरकारी बजार बन्द रहेको थियो ।

यसअघि, दैनिक साढे ५०० टनसम्म तरकारी तथा फलफूल भित्रिने गरेको थियो । बुधबार भने करिब ४०० टनमात्र आएको व्यापारी विष्णु कँडेलले बताए । पछिल्लो समय सरकारले बजार अनुगमन दैनिकरुपमा नै गर्दै आएको छ ।

अनुगमन टोलीले यसअघि धादिङ, चितवन, मकवानपुरलगायत जिल्लामा पुगी किसानले पाउने र उपभोक्ताले तिर्ने मूल्यबारे जानकारी लिएको थियो । किसानले पाउने मूल्यको चार गुणा बढीसम्म व्यापारीले उपभोक्ताबाट रकम लिने गरेको अनुगमनकाक्रममा पाइएको थियो ।

अनुगमन टोलीलाई विरोध गर्न मुख्य भूमिका खेलेको भन्दै फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरिएको थियो ।

सरकारी अनुगमनको विरोधमा उत्रिएका व्यवसायीले मंगलबार अबेरमात्र आन्दोलन फिर्ता लिएका थिए । अनुगमन जानकारीबिना नै गर्ने र अब गरिने जुनसुकै क्षेत्रको अनुगमनमा विरोध गरे सरकारले कारबाही गर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवका स्वकीयसचिव सन्तोष विष्टले जानकारी दिए ।