निर्मला हत्या प्रकरणः वास्तविक हत्यारा पत्ता लगाउन नसकेको स्थानीयको आरोप

1559
views

भिमदत्तनगर, ६, भदौ । बलात्कार पछि हत्या गरिएकी तेह्र वर्षीया बालिका निर्मला पन्तको वास्तविक हत्यारा पक्राउमा प्रहरी अझै सफल बनेको । वास्तविक हत्यारा पक्राउ गरी आवश्यक कार्वाहीको माग गर्दै बुधबार स्थानीयले आन्दोलनको आँधीवेहरी सिर्जना गरे । उक्त आन्दोलनलाई थेग्न नसक्ने परिस्थिति आँकलन गर्दै प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गर्यो । वास्तविक दोषी खोजेर कार्वाही गर्न दबाब दिन पुगेका प्रर्दशनकारीले प्रहरीको अश्रग्यास र लाठीको चोट पनि बेहोर्नुपर्यो ।

त्यो कहाली लाग्ने घटनाले क्षतविक्षत भएको स्थानीयको आक्रोष बजार बन्दसम्म पुगेको छ । प्रर्दशनकारीले मंगलवारदेखी बजार बन्द गराएका छन् । उनीहरुले आक्रोषको आन्दोलनलाई थप शशक्त बनाउँदै लगेका छन् ।

उनीहरुले प्रहरीले घटनाको वास्तविक दोषि लुकाउन मानसिक अवस्था ठीक नभएका व्यक्तिलाई पक्राउ गरि घटनालाई ढाकछोप गर्न लागेको आरोप समेत लगाएका छन् ।

उनीहरुले घटनाका वास्तविक दोषि पक्राउ नभएसम्म आफुहरुले आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । आन्दोलित स्थानीयले भीमदत्तनगर बजार बन्द गर्नुका साथै जिल्ला प्रशासन कार्यालय, राजमार्ग नजिक रहेको ट्राफिक पोष्ट र दशरथचन्द चोक लगायतका स्थानमा प्रदर्शन गरिरहेका छन् । आन्दोलन चर्किएपछि स्थानीय र प्रदर्शनकारीबीच बेला बेलामा झडप समेत हुने गरेको छ ।

निर्मलाको वलात्कार पछि हत्या गरेको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । विष्ट मानसिक अवस्था ठीक नभएको व्यक्ति रहेको जनाउँदै स्थानीयले प्रहरीले निर्मलाको वास्तविक हत्यारा पत्ता लगाउन नसकेको आरोप लगाएका छन् ।

गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको अवस्थामा निर्मलाको शव भेटिएको थियो । उनको साउन ११ गते दिउँसो हत्या भएको थियो । पक्राउ परेका विष्टले नै पन्तको उखुबारीमा लगेर बलात्कारपछि घाँटी थिचेर हत्या गरेको खुल्न आएको सोमबारको पत्रकार सम्मेलनमा प्रहरीले बताएको थियो ।