निर्मला हत्या प्रकरणः कञ्चनपुरमा गोली लागेर ८ घाइते (अपडेट)

968
views

महेन्द्रनगर, ७ भदौ । बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा जारी आन्दोलनका क्रममा झडप हुँदा आठ जना घाईते भएका छन् ।

विहीबार बिहानैदेखि जारी आन्दोलनमा प्रहरी र आन्दोलनकारीबीच झडप हँदा छ जना आन्दोलनकारी र दुई जना प्रहरी घाईते भएका हुन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

प्रहरीले चलाएको गोली लागेर कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का १७ बर्षीय अर्जुन भण्डारी सहित घटनामा अन्य पाँच जना आन्दोलनकारीलाई गोलीको छर्रा लागेर घाईते भएको महाकाली अञ्चल अस्पतालले जनाएको छ । घाईते हुनेमा तेज भट्ट, कृत पनेरु, मनोज बुढा, सरोज खड्का र सन्तोष कठरिया रहेका छन् ।

घाईते भण्डारीको उनको बाँया खुट्टामा गोली लागेको छ । महाकाली अञ्चल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भण्डारीलाई कैलालीको सेती अञ्चल अस्पताल पठाईएको अञ्चल अस्पतालले जनाएको छ ।

त्यस्तै आन्दोलनकारीको ढुंगामुढा प्रहारबाट प्रहरी हवल्दार हर्कबहादुर पाल र जवान महेश भट्ट घाइते भएका छन् । घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार हुँदैछ ।

भीमदत्त नगरपालिका–२ खोल्टी निवासी १३ वर्षीया निर्मला साउन १० गतेदेखि वेपत्ता थिईन् । साउन ११ गते उनको शव भीनपा – १९ को एक उखुबारीमा फेला परेको थियो ।

आन्दोलनकारीले दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । एसपी डिल्ली बिष्टको सरुवाको माग राख्दै उनको पुत्लाको शवयात्रा निकाल्दै दुई हजार बढी आन्दोलनकारी जिप्रका पुगेका थिए । दैजीदेखि निकालिएको पुत्लाको जिप्रका अगाडि दहन गरेका छन् ।

घटनाको छानविनकालागि प्रदेश नं. ७ प्रहरीले वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दलाई कञ्चनपुर खटाएको छ । वरिष्ठ प्रहरी उपरीक्षक चन्दले विहीबार नै घटनाको छानविन थाल्ने प्रहरी स्रोतले जनाएको छ ।