एकीकरण सिफारिसप्रति पूर्वएमालेभित्र असन्तुष्टि

723
views

काठमाडौं, ८ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एकीकरण कार्यदलहरूले केन्द्रीय कार्यालयमा बुझाएको सिफारिसप्रति कतिपय जिल्लामा पूर्वएमालेभित्र असन्तुष्टि देखिएको छ । काठमाडौं, ललितपुर, प्रदेश नम्बर ५ का केही जिल्लाका नेताले एकीकरण कार्यदलको सिफारिसप्रति असन्तुष्टि जनाउँदै सच्याउन माग गरेका छन् ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा महासचिव विष्णु पौडेललाई भेटेरै उनीहरूले प्रतिवेदन एकपक्षीय भएको भन्दै सच्याउन माग गरेका हुन् । यसरी असन्तुष्टि जनाउँदै प्रतिवेदन सच्याउन माग गर्ने अधिकांश जिल्लास्तरीय नेताहरू माधवकुमार नेपालनिकट छन् । केन्द्रीय सचिवालयले ७ भदौभित्र एकीकरण कार्यदललाई प्रतिवेदन बुझाइसक्न निर्देशन दिए पनि प्रदेश १ र २ ले अझै बुझाएका छैनन् ।

काठमाडौंमा छुट्टाछुट्टै सूची, ललितपुरमा असन्तुष्टि
जिल्ला एकीकरण कार्यदलले प्रदेश कार्यदललाई एकपक्षीय प्रतिवेदन बुझाएको भन्दै नेता नेपालनिकट काठमाडौंका नेताहरूले सुरेन्द्र मानन्धरको नेतृत्वमा एक सय ४३ जनाको छुट्टै सूची बुझाएको छ । कार्यदलले काठमाडौं अध्यक्षमा रामशरण ढुंगानाको नाम सिफारिस गरेकोमा एकपक्षीय भएको भन्दै मानन्धर नेतृत्वको समूहले छुट्टै सूची बुझाएको हो । मानन्धरको नेतृत्वमा काठमाडौं जिल्लाअन्तर्गतका केही मेयर, उपमेयरसहित करिब सयजनाको समूहले बिहीबार महासचिव पौडेललाई भेटेर एकीकरणका नाममा एकपक्षीय ढंगले अघि नबढ्न र सबैले न्यायको अनुभूति गर्नेगरी निश्चित विधि र मापदण्डको आधारमा अन्तिम निर्णय गर्न ध्यानाकर्षण गराएको छ ।

मानन्धर समूहले अध्यक्षमा अध्यक्ष केपी ओलीनिकट ढुंगानाको सट्टा सागर नेपाललाई बनाइनुपर्ने प्रस्ताव गरेका छन् । काठमाडौं अध्यक्ष कृष्ण राईले भने पूर्वएमालेको भागमा परेको एक सय ३८ जनाको र बाँकी माओवादीतर्फको सूची समेटर दुई सय २५ जनाको सूची कार्यदललाई बुझाएका थिए । उता, ललितपुरमा कार्यदलले हरिकृष्ण व्यञ्जनकारको नाम पूर्वएमालेको जिल्ला नेतृत्वपंक्तिमा कुनै परामर्श नै नगरी सिफारिस भएको भन्दै नेताहरू माधव पौडेल, मधुसुदन पौडेल, सुशीला नेपाललगायतको समूहले सुरेन्द्रमोहन शर्माको नाम अघि सारेको छ ।

त्यस्तै, सिन्धुपाल्चोकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकपक्षीय ढंगले नाम सिफारिस गरेको भन्दै सरेश नेपाल, होमनारायण श्रेष्ठलगायत अध्यक्ष ओलीनिकट जिल्लास्तरीय नेताहरूले असन्तुष्टि जनाएका छन् ।

प्रदेश ५ मा पनि असन्तुष्टि
प्रदेश ५ को एकीकरण कार्यदलले पार्टी अध्यक्षद्वयको एकीकरणबारे दिएको निर्देशनविपरीत जिल्लाको नेतृत्व सिफारिस गरेको भन्दै केन्द्रीय कार्यालय धुम्बाराहीमा उजुरी परेको छ । अर्घाखाँची, पाल्पा, दाङलगायत जिल्ला कमिटी नेतृत्व सिफारिसप्रति असन्तुष्टि आएका छन् । नयाँपत्रिकाबाट