पाथीभरा गोल्डकप, १० टोलीकाबीच प्रतिष्पर्धा

695
views

फुङलिङ । शुक्रवारदेखी ताप्लेजुङमा हुने तेस्रो संस्करणको पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा भारत र काठमाडौंका एक÷एकसहित १० टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा स्थानीय कञ्चनजंघा फुङलिङ क्लब ताप्लेजुङ र रेडहर्स क्लब इलामकाबीच प्रतिष्पर्धा हुने भएको छ । सदरमुकामको भानु माविमा उक्त प्रतियोगिता हुने भएको हो ।

तीनवर्षअगाडि नाम परिवर्तन गरी पाथीभरा गोल्डकप बनाइएको यो प्रतियोगिताको पुरस्कार राशि पनि बढाइएको छ । प्रतियोगिताको विजेता टोलीले तीन लाख एक हजार एक सय ११ र उपविजेताले एक लाख ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार राशि रहेको छ ।

प्रत्येक खेलको म्यान अफ दी म्याचले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् भने प्रतियोगिताको उत्कृष्ट विधाका खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । खेल यहि भदौ १६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा आउने आठ हजार बढी दर्शकको लागि एकै पटकमा खेल अवलोकन गर्न मिल्ने गरीे बाँसको प्याराफिट निर्माण गरिएको छ ।