महिला हिंसा विरुद्ध संसदमा दर्ता संकल्प प्रस्तावमाथि छलफल

522
views

काठमाडौ– प्रतिनिधिसभाको बैठकमा महिला विरुद्धको हिंसा अन्त्य गर्ने सम्बन्धी संकल्प प्रस्तावमा छलफल भएको छ । गत असार २१ मा सांसद वृन्दा पाण्डेले संसद् सचिवालयमा सो प्रस्ताव दर्ता गराएकी थिईन् ।

प्रस्तावमाथिको छलफलमा सहभागी सबै सांसदले उक्त प्रस्तावप्रति समर्थन जनाएका थिए । महिला हिंसा अन्त्य गर्न कडा कानुन निर्माण, तीनको कार्यान्वयन र जनचेता विस्तारमा सरकारले अग्रसरता देखाउनुपर्नेमा जोड दिएका थिए ।

संकल्प प्रस्तावमा दाइजोको निहुँमा हुने कुटपिट, अन्धविश्वास, शोषणविरुद्ध जनचेतना अभियान चलाउनुपर्ने भन्दै सामाजिक न्याय र समानताको लागि विद्यालय तहका पाठ्यक्रममा नै समावेश गर्न सरकारलाई निर्देशन दिन माग गरिएको छ ।

नेपालको संविधानबमोजिम नेपाल पक्ष राष्ट्र भएको महिलामाथि हुने सबै प्रकारका विभेद्विरुद्धको महासन्धिलगायत अन्तर्रा्िष्ट्रय अभिसन्धिहरुले शारीरिक, मानसिक, यौनजन्य मनोवैज्ञानिक एवं अन्य कुनै पनि प्रकारको महिला हिंसा अन्त्य गर्न माग संकल्प प्रस्तावमार्फत गरिएको छ ।

सांसद शशीश्रेष्ठले प्रस्तावमा यौनहिंसाबारे विस्तृत विश्लेषण गरिएको टिप्पणी गर्दै महिला हिंसाका अपराधीलाई परिवार सदस्य, कार्यकर्ता वा कुनै सम्बन्धका आधारमा संरक्षण गर्नू नुहुने बताइन् ।
अर्की सांसद शान्ता चौधरीले देशव्यापीरुपमा महिला हिंसा डरलाग्दो रुपमा बढिरहेको भन्दै राज्यले यसमा आवस्यक गाम्भिर्यता नदेखाको बताइन् ।

सांसद कमला रोकाले राष्ट्रिय, अन्तराष्ट्रियस्तरमा रहेका कानुनी प्रावधान कार्यान्वयन गर्न सरकारको अग्रसरता चाहिएको औल्याइन् । सांसद महेश्वरकुमार दाशले समाजमा अपराध विरुद्धको जागरण अभियान सञ्चालन गर्नुपर्ने धारणा राखे ।