निर्मला पन्त हत्या प्रकरणः महेन्द्रनगरको अवस्था सामान्य बन्दै

1921
views

महेन्द्रनगर( विगत तीनदेखि तनावग्रस्त कञ्चनपुरस्थित महेन्द्रनगरको अवस्था सामान्य बन्न थालेको छ । दुईजना प्रमुख सरकारी अधिकारीको परिवर्तन र सरकारले गठन गरेको उच्चस्तरीय छानविन टोलीले शुक्रबारबाट अनुसन्धान सुरु गरेपछि कञ्चनपुरको तनाव केही मत्थर भएको हो ।

१३ वर्षीया बालिका निर्मला पन्तको हत्या अभियोगमा प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरी दोषी उम्काउन खोजेको भन्दै तीन दिनदेखि गरिएको विरोधले तनावग्रस्त महेन्द्रनगरको अवस्था शुक्रबार बिहानदेखि समान्य बन्दै गएको छ ।

बजार क्षेत्रका पसल खोलेपनि जिल्लाका अन्य शहरमा स्थानीयको प्रदर्शन जारी नै छ । वेदकोट नगरपालिकाको लालपुर बजार, बेल्डाँडी गाँउपालिकाको बेल्डाँडी बजार लगायतका स्थानमा स्थानीयले नाराबाजी गर्दै टायर जलाएर प्रदर्शन गरिररहेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गड्डाचौकी–गुलेरिया सडक खण्डमा पनि प्रदर्शन भइरहेको छ । आन्दोलनका क्रममा प्रहरीले दमन गरेको भन्दै जिल्लामा एक दिनका लागि विद्यायल बन्द गरिएको थियो ।

बिहीबारको प्रर्दशनमा प्रहरीले चलाएको गोली लागि घाईते भएका मध्ये सन्तोष कुमार कठरियाको हाल महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने अर्जुन भण्डारीलाई काठमाडौ लगिएको छ । घाइते मध्येका तेजराज भट्टलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ

भिमदत्त नगरपालिका–२ बस्ने १३ वर्षीय निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो । हत्याको २४ औं दिनमा प्रहरीले स्थानीय दिलिपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । तर, पीडितका परिवार र आफन्तले भने अभियुक्त ‘नक्कली’ भएको भन्दै प्रहरी र उसको अनुसन्धान प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विरोधमा उत्रिएका हुन् ।