कञ्चनपुर घटनामा एसपी विष्टको भूमिका शंकास्पद

1274
views

कञ्चनपुर, भदौ ९ गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। शनिबार मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।

गृहमन्त्री रामबहादुर थापा सचिव र तीन वटै सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको विस्तृत छानबिनको तथ्य बाहिर नआएसम्मका लागि एसपी विष्टलाई निलम्बन गर्ने निर्णय गरेको हो।
त्यस्तै तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णकुमार खड्का, डीएसपी ज्ञानबहादुर सेठ्ठी र मुद्दा शाखाका प्रहरी निरीक्षक यकेन्द्र खड्कालाई छानबिनका लागि केन्द्रमा तान्ने निर्णय बैठकले गरेको छ।
कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या घटनामा एसपी विष्टको भूमिका शंकास्पद देखिएको र घटनाको अनुसन्धानमा तदारुकता नदेखाएको भन्दै निलम्बन गर्नुपर्ने अवस्था आएको गृहले जनाएको छ।
गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार मन्त्री बादलले प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बलप्रयोग गर्दा संयमता अपनाउन निर्देशन दिएका थिए।
‘घटनाको विस्तृत प्रतिवेदन नआएसम्म एसपी विष्टलाई निलम्बनमै राख्ने निर्णय बैठकले गरेको छ,’ भट्टराईले भने, ‘तत्कालीन सिडिओ, डीएसपी र प्रहरी निरिक्षकलाई केन्द्रमा तानेर छानबिन गरिने भएको छ।’
गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।