प्रधानमन्त्री भेट्न गएका सांसद सन्देश लिएर कन्चनपुर पुगे

1003
views

कञ्चनपुर, भदौ १० बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको घरमा आइतवार प्रधानमन्त्री केपी ओलीको सन्देश लिएर तीन सांसद पुगेका छन् ।

वास्तविक दोषी पत्ता लगाई कडा कारबाही गर्न प्रधानमन्त्री दृढ रहेको सन्देश अभिभावक र स्थानीय माझ ती सांसदले राखे ।
सांसद दिपक प्रकाश भट्ट, नरबहादुर धामी र लेखराज भट्ट पन्तको घरमा पुगेर प्रधानमन्त्री केपी ओलीले दोषिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको सन्देश सुनाएका हुन् । कन्चनपुर घटनाका सम्बन्धमा प्रधानमन्त्री भेट्न गएका सांसद सन्देश लिएर कन्चनपुर पुगेका हुन् ।
प्रधानमन्त्री ओलीले दोषीलाई कारबाही र पीडितलाई न्यायका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएको सांसदत्रयले उल्लेख गरे । प्रधानमन्त्रीकै सन्देश लिएर भेट्न पुगेका उनीहरुले दोषी पहिचान गरि कारबाही हुनेमा विश्वस्त हुन अभिभावक र स्थानीयलाई आग्रह गरे ।
बलात्कारपछि बालिका हत्याको घटनापछि वास्तविक दोषी पक्राउ नगरेको भन्दै कन्चनपुर केहीदिन यता तनाबग्रस्त बनेको छ । दोषि कारबाहीका लागि प्रधानमन्त्री नै गम्भीर भएकाले कुनै अशान्ति हुन नदिन उनीहरुले आग्रह गरे ।
पन्तको घरमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहपनि भेट्न पुगेका थिए । उनले प्रदेश सरकारका तर्फबाट पन्त र प्रहरीको गोली लागेर मृत्यु भएका सन्नी खुनाको परिवारलाई जनही ५ लाख दिने निर्णय गरेको जनाए ।
सांसदत्रय प्रहरीको गोलीवाट मृत्यु भएका खुनाको घरमा पनि भेट्न जाने कार्यक्रम छ ।