प्रस्तावित प्रधानन्यायाधीश मिश्रविरुद्ध उजुरी आह्वान

661
views

काठमाडौ, ११, भदौ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध उजुरी आह्वान गरेको छ । आइतबार बसेको समितिको बैठकले संवैधानिक परिषद्को पत्राचार अनुसार मिश्रको सुनुवाइका लागि सर्वसाधरण तथा सरोकारवालासँग उजुरी माग गरेको हो ।

भदौ ११ गतेदेखि २० गतेसम्म दश दिनको समयसीमाभित्र उजुरी दर्ता गरिसक्न समितिले आह्वान गरेको छ । संघीय संसद् सचिवालयका सह–सचिव ध्रुवप्रसाद घिमिरेले प्रस्तावित प्रधानन्यायाधीश मिश्रका सम्बन्धमा उजुरी भएमा दिनसक्ने गरी सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय भएको बताए ।

समितिको इमेलमा पनि उजुरी पठाउन सकिनेछ । यस्तै, संघीय संसद् सचिवालयमा पनि उजुरी दर्ता हुनेछ । जिल्लाबाट उजुरी पठाउनका लागि जिल्ला प्रशासन काउर्यालयमार्फत दर्ता गर्न सकिनेछ ।

यसअघि संवैधानिक परिषदको भदौ ७ गतेको बैठकले मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । यसअघि सिफारिसमा पर्नुभएका दीपकराज जोशीलाई समितिले अस्वीकृत गरेपछि परिषदले पुनः मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।