सरकारको योजना चुनाव, युवाको लक्ष्य प्रमाण पत्र

495
views

निर्मल पौडेल 
पर्वत, २१ चैत्र । सरकारले चुनावी रणनीति पुरा गर्न बनाएको योजना हो म्यादी प्रहरी भर्ना छनौट । तर, वेरोजगार युवाको लक्ष्य प्रमाण पत्र हातपार्नु रहेको देखिएको छ । वैदेशीक रोजगारका लागि खाडीमुलुक पुग्ने वेरोजगार युवाहरुलाई म्यादी प्रहरी भर्नाले सेक्युरीटीको राम्रो अवसर हुने भएपछि प्रमाण पत्र हात पार्न म्यादी प्रहरीमा युवाको आर्कषण बढेको हो ।
              प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले देशका ७५ वटै जिल्लामा भर्ना आव्हान गरेपछि यसको प्रभाव १८ देखि ३० बर्ष उमेर ननाघेका युवा समुहमा परेको छ । १८ देखि ५४ बर्ष उमेर ननाघेकाहरुलाई म्यादी प्रहरीमा भर्ना हुने भनिएपनि अधिकांस जिल्लाहरुमा युवा समुहको बढ्दो आकर्षण देखिएको छ ।
               म्यादी प्रहरीमा वैदेशीक रोजगारीका लागि खाडीमुलुक पुगेर फर्किएका युवाहरु, भुु.पू सेना तथा प्रहरीहरुले समेत फारम भरेका छन । विदेशमा रहँदा पाएको कष्ट सम्हालेको अनुभूति पश्चात म्यादी प्रहरीको प्रमाणले विदेशमा नोकरी गर्न सहयोग पुग्ने आशामा म्यादीको जागिर खान पर्वत आएका युवाहरुले नवदृष्टिसँग बताएका छन ।                विदेशमा जाने अधिकाँस युवाहरु सीप र दक्षताको अभावमा दुःख, कष्ट झेल्नुपर्ने बाध्यतासँगै भनेजस्तो रोजगार नपाएर भौतारीनुभन्दा म्यादी प्रहरीमा भर्ना भई सेक्युरिटीमा जानसके दुईचार पैसा कमाउन सकिने खाडी मुलुकको परिस्थिति थेग्न म्यादी प्रहरीको मोह लागेको युवाहरुको भनाई छ ।              म्यादी प्रहरीमा छनौट भई काम गरेको युवाले नोटरी गरी खाडी मुलुकमा सुरक्षा गार्डमा आवेदन दिन सक्ने भएकोले पनि म्यादी प्रहरीमा आर्कषण बढ्दो रहेको छ ।