विद्युत् प्राधिकरणका कर्मचारीले विभिन्न बहानामा घूस रकम माग्ने प्रवृत्ति

1720
views

चितवन भदौ १३ नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले विभिन्न बहानामा सेवाग्राहीसँग घूस रकम माग्ने गरेका गुनासो आइरहेका बेला नेपाल विद्युत् प्राधिकरण भरतपुरका फ्युज शाखाका कर्मचारी कृष्ण सुवेदी २० हजार रूपैयाँ घूससहित अख्तियारको फन्दामा परेका छन् ।

लाइन जोड्न, क्षमता बढाउन र थ्री फेज लाइन वितरण गर्नेलगायतका प्रयोजनका लागि सेवाग्राहीसँग घूस रकम माग्ने गरेका गुनासो बढिरहे पनि अख्तियारमा उजुरी परेको सम्भवतः सोमबार पहिलोपटक हो ।
प्रसारण लाइन मर्मतका लागि पोल मर्मतसहितको शुल्क कार्यालयमा बुझाउँदा समेत घूस रकम मागेपछि नवज्योति मिनरल वाटरका सञ्चालक नवराज खनियाले अख्तियारमा उजुरी नै गर्नुप¥यो । खनियाले विगत चार वर्षमा विद्युत् मर्मतकै लागि तीन लाख रूपैयाँ घूस दिइसकेको जनाएका छन् ।
विद्युत्का कर्मचारीलाई अख्तियार अनुसन्धान आयोगको कार्यालय हेटौँडाले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएपछि पीडित सेवाग्राहीको आँखा खुल्न थालेको छ ।
विद्युत् प्राधिकरणमा तोकिएको शुल्क बुझाएपछि सेवाग्राहीले छिटोछरितो सेवा पाउनुपर्छ । तर, विभिन्न बहानामा सेवाग्राहीले अनावश्यक रकम बुझाउनु अन्याय भएको उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधान बताउँछन् ।
उनी भन्छन्, ‘उद्योगी व्यवसायीसँग नयाँ लाइन विस्तार, विद्युत्को क्षमता बढाउन र प्रसारण लाइन मर्मतका लागि घूस माग्ने गरेको सुनिएको छ, तर लिखितरुपमा संघमा उजुरी आएको छैन ।’ सेवाग्राहीले गुपचुपरुपमा दस्तुर तिरेर क्षमता बढाउने गरेका कारण अनियमितता गर्ने कर्मचारीलाई प्रश्रय मिलेको उनी बताउँछन् । विद्युत् प्राधिकरणमा हुने गरेका अनियमितताको समस्याबारे उद्योगी व्यवसायीसँग छलफल गरेर कार्यालयमा धर्ना दिएर सचेत गराउने कार्यक्रम रहेको अध्यक्ष प्रधानले बताए ।
विद्युत् प्राधिकरण भरतपुरका कार्यालय प्रमुख सुरेशकुमार महतोले प्राधिकरणभित्र संस्थागतरुपमै घूस माग्ने गरेको आरोपको भने प्रतिकार गरे । उनले भने, ‘संस्थागतरुपमै अनियमितता हुने गरेको छैन, सबै कर्मचारी एकै प्रकृतिका पनि हुँदैनन्, गल्ती गर्नेले सजायको भागीदार बन्नुपर्छ । जसले गल्ती गर्छ कानुनअनुसार सजाय पाउँछ, एउटाले गल्ती ग¥यो भनेर सबैलाई जोड्न भने मिल्दैन ।’
घूससहित कर्मचारी पक्राउ परेकाबारे प्रमुख महतो भन्छन्, ‘सुवेदीको हकमा फोरमेनले सम्झाउँदासम्झाउँदै अटेर गरेपछि त्यस्तो घटना हुन गयो । सेवाग्राहीसँग पहिल्यैदेखि चिनजान भएका कारण उनले लोभ गरे, कारबाहीमा परे ।’
कार्यालय प्रमुखका रुपमा आफू भरतपुर आएको ५ महिनामा अनियमितता भएको सम्बन्धमा यस घटनाबाहेक सेवाग्राहीले कुनै उजुरी नगरेको उनले बताए । कर्मचारीलाई मर्यादित बन्न र सेवाग्राहीलाई सेवा प्रदान गर्न कुनै प्रकारको गल्ती नगर्न कार्यालयमा छलफल गरेर निर्देशन दिन लागेको उनी बताउँछन् ।
कार्यालय सुधारका लागि कस्तो कदम लिनुहुन्छ ? भन्ने जिज्ञासामा प्रमुख महतो भन्छन्, ‘मैले मिटिङ राखेर सतर्क गराउने हो, कसैले अनियमितता गर्छ भने ऊ आफैँ सजायको भागीदार बन्नुपर्छ ।’
विभिन्न बहानामा घूस रकम माग्ने प्रवृत्ति नियन्त्रणका लागि सेवाग्राही आफैँ सतर्क बन्नुपर्ने र कसैले अनियमितता गर्न खोजे उजुरी गर्नसमेत उनले सुझाव दिएका छन् ।