भोलेन्टियर शिक्षिकामाथि यौन दुराचार

6124
views

महेन्द्र जिसी
पर्वत, १४, भदौ । विद्यालयमा पढाउने प्रधानाध्यापक र शिक्षक तालतालका हुन्छन् । कतै आर्थिक अनियमितताका घटना त कतै अप्राकृतिक मैथुनका घटना सार्वजनिक भईरहेका बेला पर्वतको एक विद्यालयका प्रअ र शिक्षकले भोलेन्टियरका रुपमा विद्यालयमा पढाउन आएकी होल्याण्डकी महिला नागरिकलाई पटक पटक यौन प्रस्ताव राखेका छन् ।

भोलेन्टियरका रुपमा आएकी ति महिला नागरीकलाई पटक पटक यौन प्रस्ताव राखेर यौन दुराचार गरेको भन्दै विश्वज्योती मावि कुश्मानगरपालिका–११ का प्रधानध्यापक गणेश तिमल्सेना र शिक्षक याम बहादुर केसीलाई विद्यालय व्यवस्थापन समितिले कार्वाही गरेको छ ।

विद्यालयमा पशु विज्ञान सञ्चालनका लागि सहयोग गरेका भोलेन्टियरलाई यौन दुराचार गरेको आरोपमा विद्यालयले कार्वाही गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिन बहादुर नेपालीले बताए । गत भदौ ५ गते विद्यालयका प्रधानअध्यापक तिमिल्सेनाले ति महिला नागरिकलाई यौन प्रस्ताव राख्दै अश्लिल बोल्ने गरेको गुनासो आएपछि व्यवस्थापन समितिले प्रधानअध्यापक नरहने गरी कार्वाही गर्ने निर्णय गरेको नेपालीले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिन बहादुर नेपालीको अध्यक्षतामा भएको वैठकले शिक्षक याम बहादुर केसी र प्रअ गणेश तिमल्सेनालाई कार्वाही गरेको थियो । प्राविधिक धारको शिक्षा सञ्चालन गर्दै गरेको विद्यालयलाई सहयोगार्थ भोलेन्टिएरका रुपमा खटिएकी महिला नागरीक नाम परिवर्तित (मिसेस पर्वत)लाई प्रधानाध्यापक तिमिल्सेना र शिक्षक केसीले यौन प्रस्ताव राखेको भन्दै व्यवस्थापन समितिलाई जानकारी गराएपछि शिक्षकहरुलाई स्थानीयको रोहवरमा कार्वाही गर्ने निर्णय गरेको अध्यक्ष मिन बहादुर नेपालीले जानकारी दिए ।

विद्यालयको प्रशासकीय जिम्मा पाएका प्रधानाध्यापक र विद्यालयमा पढाउने शिक्षकले विदेशी महिला नागरिकमाथि गरेको यौन दुराचारले विद्यालयकै बदनामीसँगै समाजिक असर पर्ने भन्दै उक्त निन्दनीय कामको सजाय पाउनुपर्ने ठानी व्यवस्थापन समितिको बैठकबाट कार्वाही गरी कानुनी उपचारको खोजी गर्न पीडितलाई सहयोग गरिएको नेपालीले बताए ।

व्यवस्थापन समितिले विद्यालयका शिक्षकहरुबाट विदेशी नागरीक हिंसामा पर्नु दुःखद कुरा भएको भन्दै शिक्षकद्धयलाई कार्वाही गरेको जनाएको छ । पीडित महिलाको न्याय र शिक्षकद्वयको अनैतिक गतिविधिको छानविनका लागि सम्बन्धित कार्यालयलाई सिफारिस गरि पठाउने निर्णय भएको अध्यक्ष नेपालीले जानकारी दिए ।

विद्यालयमा शिक्षक र प्रअबाट भएको यस्ता गतिविधिलाई निरुत्साहित गर्दै दोषीलाई कडा कार्वाहीको पहल हुने नगर शिक्षा वडा अध्यक्ष तथा कुश्मा नगरपालिकाका शिक्षा संयोजक शिव प्रसाद पौडेलले बताए । यता नगरशिक्षा कार्यालयले भने सो विषयमा कुनैपनि जानकारी नआएको बताएको छ ।

विद्यालयका लागि सेवा गर्न आएकी विदेशी शिक्षिकामाथि भएको उक्त घटनाका विषयमा सम्बन्धीत विद्यालयले सिफारिस गरी पठाएको जनाएपनि सम्बन्धित कार्यालय मौन बसेको छ ।

विद्यालय प्रअ र शिक्षकबाट भएको यस्तो घटनाका सम्बन्धमा सम्बन्धित कार्यालय मौन बस्दा पीडिको लागि न्याय कि प्रअ र शिक्षकको बचावट ? रहष्मय बनेको छ ।