नेपालमा लगानी गर्न सार्क अगाडि, व्यापारमा बिमस्टेक

738
views

काठमाडौ, १५ भदौ । नेपालमा बिमस्टेक सदस्य राष्ट्रबाट भन्दा सार्क सदस्य राष्ट्रबाट प्रत्यक्ष विदेशी लगानी बढी आएको देखिएको छ । त्यस्तै, बिमस्टेक सदस्य राष्ट्रको तुलनामा सार्क सदस्य राष्ट्रसँगको व्यापार घाटा पनि कम देखिएको छ । पछिल्ला पाँच वर्षको सरकारी तथ्यांकअनुसार समग्रमा सार्क मुलुकबाट बढी लगानी आएको र तुलनात्मक रूपमा कम व्यापार घाटा भएको देखिन्छ ।

०७० यता दक्षिण एसियाली सहयोग संगठन (सार्क)का सदस्य राष्ट्रबाट नेपालमा ५१ अर्ब रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांक छ । यो बिमस्टेक सदस्य राष्ट्रबाट आएको लगानीभन्दा १ अर्ब रुपैयाँले बढी हो । सोही अवधिमा बिमस्टेक सदस्य राष्ट्रबाट ५० अर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ ।

पछिल्ला पाँच वर्षमा नेपालले सार्क सदस्य राष्ट्रसँग समग्रमा २६ खर्ब ८३ अर्ब रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ । यो घाटा बिमस्टेक सदस्य राष्ट्रसँगको भन्दा ६७ अर्ब रुपैयाँले न्यून हो । सोही अवधिमा बिमस्टेक सदस्य राष्ट्रसँग नेपालले २७ खर्ब ४९ अर्ब रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको भन्सार विभागको तथ्यांक छ ।

म्यानमारः लगानी शून्य,१० अर्ब घाटा
बिमस्टेक सदस्य राष्ट्र म्यानमारबाट नेपालमा हालसम्म प्रत्यक्ष विदेशी लगानी आएको देखिँदैन । तर, म्यानमारसँग नेपालको व्यापार घाटा भने उल्लेखनीय भएको देखिन्छ । नेपालले म्यानमारसँग हरेक वर्ष सरदर २ अर्ब रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको देखिन्छ । विभागका अनुसार पछिल्ला पाँच वर्षमा नेपालले म्यानमारसँग १० अर्ब ६९ करोड रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको हो ।

थाइल्यान्डः ५० लाख लगानी, ५२ अर्ब घाटा
बिमस्टेकको अर्को सदस्य राष्ट्र थाइल्यान्डसँग पनि नेपालको व्यापार घाटा उच्च देखिन्छ । थाइल्यान्डसँगको व्यापारमा नेपालले वार्षिक सरदर १० अर्ब रुपैयाँ घाटा व्यहोर्दै आएको छ । पछिल्ला पाँच वर्षमा नेपालले थाइल्यान्डसँग ५२ अर्ब ३५ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । जबकि सोही अवधिमा नेपालमा थाइल्यान्डबाट प्रत्यक्ष विदेशी लगानी आगमन भने निराशाजनक छ । पछिल्ला पाँच वर्षमा थाइल्यान्डबाट नेपालमा जम्मा ५० लाख रुपैयाँबराबरको विदेशी लगानी मात्रै भित्रिएको विभागको तथ्यांक छ ।

पाकिस्तानः करोडमा लगानी, करोडमै घाटा
सार्क सदस्य राष्ट्र पाकिस्तान (जो बिमस्टेकमा छैन)को लगानी तथा व्यापारको अवस्था सन्तुलन देखिन्छ । पछिल्ला पाँच वर्षमा पाकिस्तानबाट ११ करोड ३० लाख रुपैयाँबराबरको प्रत्यक्ष विदेशी लगानी आएको देखिन्छ भने सोही अवधिमा पाकिस्तानसँगको व्यापारमा नेपालले ५४ करोड ७० लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

अफगानिस्तानः व्यापार नाफामा, लगानी शून्य
पछिल्ला पाँच वर्षमा अफगानिस्तानबाट नेपालमा प्रत्यक्ष विदेशी लगानी आएको देखिँदैन । सार्क सदस्य राष्ट्र अफगानिस्तान बिमस्टेकमा भने छैन । यद्यपि, अफगानिस्तानसँगको नेपालको व्यापार भने नाफामा रहेको देखिन्छ । ०७० यता भएको अफगानिस्तानसँगको व्यापारमा नेपालले ३ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको देखिन्छ ।

माल्दिभ्सः लगानी छैन र व्यापार नगन्य
पाँच वर्षको अवधिमा सार्क सदस्य राष्ट्र माल्दिभ्सबाट नेपालमा प्रत्यक्ष विदेशी लगानी आएको देखिँदैन । बिमस्टेक सदस्य नरहेको माल्दिभ्ससँगको नेपालको व्यापारसमेत उल्लेखीय देखिँदैन । यद्यपि, यो पाँच वर्षमा नेपालले माल्दिभ्ससँगको व्यापारमा ९० लाख रुपैयाँ नाफा गरेको देखिन्छ ।

भुटानः बिमस्टेक, सार्क र बिबिआइएनको समेत सदस्य राष्ट्र भुटानसँग नेपालको आर्थिक–व्यापारिक सम्बन्ध उत्साहप्रद देखिँदैन । पछिल्ला पाँच वर्षमा नेपालमा भुटानबाट विदेशी लगानी आएको देखिँदैन । यद्यपि, यस अवधिमा नेपालले भुटानसँगको व्यापारमा २ अर्ब ८५ करोड रुपैयाँ घाटा व्यहोरेको विभागको तथ्यांक छ ।

बंगलादेशः व्यापार घाटा उच्चदरमा बढ्दै
भुटानजस्तै बंगलादेश पनि बिमस्टेक, सार्क र बिबिआइएनको समेत सदस्य राष्ट्र हो । पछिल्ला समयमा बंगलादेशसँग नेपालको आर्थिक–व्यापारिक सम्बन्ध बढ्दै गएको देखिन्छ । ०७० यता बंगलादेशबाट नेपालमा ४७ करोड ५० लाख रुपैयाँबराबरको प्रत्यक्ष विदेशी लगानी आएको छ । यही अवधिमा नेपालले बंगलादेशसँग ११ अर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । बंगलादेशसँगको व्यापार घाटा उच्चदरमा बढिरहेको विभागको तथ्यांक छ ।

भारतः ५० अर्ब लगानी,२६ खर्ब घाटा
भारत पनि भुटान र बंगलादेशसँगै बिमस्टेक, सार्क र बिबिआइएनको समेत सदस्य राष्ट्र हो । समीक्षा अवधिमा नेपालमा भारतबाट ५० अर्ब रुपैयाँबराबरको प्रत्यक्ष विदेशी लगानी आएको देखिन्छ । भारतसँगको व्यापार घाटा भने धान्नै नसक्ने परिमाणमा पुगिसकेको छ । यस अवधिमा नेपालले भारतसँग २६ खर्ब ७२ अर्ब रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको विभागको तथ्यांक छ ।

श्रीलंकाः व्यापार र लगानी दुवै न्यून
श्रीलंका नेपालसँगै बिमस्टेक र सार्कको सदस्य राष्ट्र हो । समीक्षा अवधिको तथ्यांकलाई हेर्दा नेपाल र श्रीलंकाबीचको लगानी तथा व्यापारिक सम्बन्ध उत्साहप्रद देखिँदैन । पाँच वर्षमा नेपालमा श्रीलंकाबाट २० लाख रुपैयाँ विदेशी लगानी आएको देखिन्छ । सोही अवधिमा नेपालले श्रीलंकासँग ३४ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । आजको नयाँपत्रिकाबाट