चिकित्सक आन्दोलन: बिरामी मारमा

849
views

चितवन, भदौ– १८ मुलुकी अपराध (संहिता) का उपचारसँग सम्बन्धित केही प्रावधान संशोधन गर्नुपर्ने मागसहित चिकित्सकहरू हडतालमा उत्रिएपछि आइतबार देशभर स्वास्थ्य सेवा प्रभावित भएको छ ।

चिकित्सकहरूले जिल्लाका सदरमुकामहरूमा विरोध प्रदर्शन गरेका छन् । अस्पतालमा आकस्मिकबाहेकका सेवाहरु अवरुद्ध पारेर डाक्टरहरु आन्दोलित बनिरहँदा भरतपुरका केही अस्पतालमा भने बिरामीहरुले सेवा नपाएको भन्दै आक्रोशित बनेका छन् ।
डाक्टरहरुले राखेको मागमा आफूहरुको पनि साथ रहेको तर बिरामीलाई अलपत्र पारेर गरिएको आन्दोलनको भने विरोध रहेको बताएका छन् । डाक्टरहरु विरोधमा उत्रिँदा आकस्मिकबाहेकका सेवाहरु प्रभावित भएका छन् । जसको प्रत्यक्ष मार बिरामीलाई परेको छ ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीहरुले आइतबार बिहान नाराबाजीसहित सेवा पाउनुपर्ने माग गरेका थिए ।
बिरामीको बाध्यतालाई ध्यानमा राखी इमरजेन्सी वार्डमा लगेर केही समय सेवा दिइएको अस्पतालका प्रशासकीय अधिकृत गृहनारायण महतोले जानकारी दिए ।
‘गत शुक्रबारदेखि उपचारका लागि यहाँ आएर बसेको छु’, बर्दियाका लटौल चौधरीले भने, ‘सेवा दिएर पनि विरोध गर्न सकिन्छ, तर हामी बिरामीको बाध्यता नबुझी डाक्टरहरुले आन्दोलन गर्दा मारमा प¥यौँ ।’
केही व्यक्तिहरुले उपचार नपाएपछि अस्पतालको प्रशासन घेराउसमेत गरेका थिए ।
भरतपुर अस्पतालमा बिहान ९ बजे ओपीडी सेवा लिन आएकाहरुलाई डाक्टरहरुले नै सोमबारबाट सेवा सुरू हुन्छ भनेपछि बिरामीहरु घर फर्किएका थिए । यस अस्पतालमा हाल दैनिक ओपीडी सेवा लिनेको संख्या १५ सयको हाराहारीमा छ ।
अस्पतालमा ओपीडी टिकट लिन आएका गैँडाकोटका नवीन सापकोटाले भने, ‘ डाक्टरहरुले आफ्नो अधिकारको माग गर्दा कर्तव्यबाट विमुख हुन भएन नि !’
देशभरिका चिकित्सकहरु आइतबार सडकमा उत्रिएका छन् । नयाँ मुलुकी अपराध संहितामा गरिएको व्यवस्था खारेजीको माग गर्दै उनीहरु सडकमा आएका हुन् । जिल्लास्थित भरतपुर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र अन्य साना निजी अस्पतालका डाक्टरहरुको उपस्थितिमा चितवनमा पनि विरोधका कार्यक्रम भएको थियो ।