सुदूरपश्चिमको महत्वपूर्ण चाड गौरा पर्व मनाइँदै

875
views

कैलाली, १८ भदौ । प्रदेश नम्बर ७ अर्थात सुदूरपश्चिमबासी आज (सोमबार) धुमधामका साथ गौरा पर्व मनाउन व्यस्त छन् ।

सुदूरपश्चिमको महत्वपूर्ण विशेष चाड भएकोले यहाँका गौरा घर, मन्दिरमा गौरा र महेश्वरको पूजाआराधना गरिएको छ । शिवकी पत्नी हिमालयकी छोरी गौरीले कडा उपासना गरी शिवलाई पतिको रुपमा प्राप्त गरेको स्मरणमा गौरा पर्व मनाउने प्रचलन छ ।

गौराको ब्रत बस्दा वंशबृक्षको निरन्तरता, सन्तानको दीर्घायू र सुखसमृद्धिका साथै सौभाग्यको प्रतीक पतिको दीर्घायूको कामना भएको ठानिन्छ । हरेक वर्ष भाद्र शुक्ल पक्ष पञ्चमीमा पर्ने बिरुडा पञ्चमी पनि हो ।

सप्तमीका दिन गौरालाई खेतबाट गौराघरसम्म भित्रयाउने प्रचलन छ । साउँ (एक प्रकारको वनस्पति) बाट पार्वतीको प्रतीकको रुपमा गौराको मूर्ति बनाएर गौरालाई खेतबाट बाजागाजाका साथ महिलाले गौराघरसम्म ल्याउने र भित्रयाउने गर्दछन् ।

गौरापर्व डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा सबैभन्दा बढी र अछाम, बझाङ, बाजुरा, कैलाली तथा कञ्चनपुरको विशेष ठाउँमा मनाउने गर्छन् ।