च्याम्पियन्स लिगमा रियलद्वारा एथ्लेटिको मड्रिड पराजित

343
views

काठमाडौं २० बैसाख । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगका सेमिफाईनल खेलहरु सुरु भएका छन् । मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई ३–० ले हराएको छ । रियलको मैदानमा भएको मड्रिड डर्बीले स्पेनिस ला–लिगा कै खेलको झल्को दिएको थियो । खेलमा रियललाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले ह्याट्रिक गरे । युरोपियन च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रेन्च क्लव मोनाको र इटालियन क्लब युभेन्टस भिड्ने छन् । यसैबीच राति तीन गोल गरेसँगै पोर्चुगिज फुटबल स्टार रोनाल्डोले युरोपको कुनै पनि क्लबका लागि सर्वा्धिक गोल गर्ने कीर्तिमान बनाएका छन् । रोनाल्डोले युरोपका शीर्ष पाँच लिगमा ३ सय ६७ गोल गरेका छन् । उनले इङ्लिस क्लब म्यानचेष्टर युनाइटेडबाट ८४ तथा रियल मड्रिडबाट २ सय ८३ गोल गरिसकेका छन् । यसअघि युरोपका शीर्ष लिगमा सर्वा्धिक गोल गर्ने कीर्तिमान इङ्लिस खेलाडी जिम्मी ग्रिएभ्सको नाममा थियो । जिम्मीले सन् १९५७ देखि ७१ सम्म तीन इङ्लिस प्रिमियर लिग र इटालियन लिगमा गरी ३ सय ६६ गोल गरेका थिए ।