नेपाल चिकित्सक सङ्घले अस्पताल बन्द गर्ने निर्णय तत्काललाई स्थगित

1338
views

काठमाडौँ, भदौ– १९  नेपाल चिकित्सक सङ्घले अस्पताल बन्द गर्ने निर्णय तत्काललाई स्थगित गरेको छ । स्वास्थ्य मन्त्रालयमा सोमबार भएको द्विपक्षीय वार्तामा नेपाल चिकित्सक सङ्घ र मन्त्रालयबीच ठोस सहमति नभए पनि अस्पताल बन्द गर्ने निर्णय स्थगित गरेको हो ।

मन्त्रालयका पदाधिकारीहरूले आउँदो सोमबारसम्ममा चिकित्सकका मागअनुसार संशोधन दर्ता गर्ने वचन दिनुभएको सङ्घका महासचिव डा. लोचन कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “सोमबारसम्म संशोधन प्रक्रिया अघि नबढे मङ्गलबारदेखि पुनः अस्पताल बन्द गरेर आन्दोलन चर्काउँछाँै । ” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा. सुशील प्याकुरेलले आन्दोलनले स्वास्थ्य मन्त्रालयमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले नेपाल चिकित्सक सङ्घलाई आन्दोलन स्थगित गर्न अनुरोध गरिएको जानकारी दिनुभयो ।
उहाँले स्वास्थ्य मन्त्रालयले कानुन मन्त्रालय, प्रधानमन्त्री, स्वास्थ्यमन्त्री लगायतसँग छलफल गरी संसद्मा संशोधन प्रस्ताव दर्ता गर्ने जानकारी दिनुभयो । डाक्टरको हडतालमा बिरामीको मृत्यु भए वा अन्य समस्या उत्पन्न भए स्वास्थ्य मन्त्रालय जिम्मेवार हुने भएकाले तत्काललाई अस्पताल बन्द जस्तो कार्य गर्नबाट रोकिएको जानकारी उहाँले दिनुभयो ।
सङ्घका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलले सहमतिका लागि प्रयास गरिने बताउनुभयो । उहाँले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव विदेश भ्रमणमा रहनुभएकाले सहमति हुन नसकेको बताउनुभयो ।
मुलुकी ऐन संहितामा चिकित्सकलाई अपराधीकरण गरिएको आरोपसहित त्यसलाई संशोधन गर्नुपर्ने माग चिकित्सकहरूको छ ।
स्वास्थ्य मन्त्रालय र चिकित्सक सङ्घबीच भएको वार्तामा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव, स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. सुशील प्याकुरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी, नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्मा, सङ्घका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष पौडेल, महासचिव डा. लोचन कार्की लगायतको सहभागिता रहेको थियो ।