चिनियाँ राष्ट्रपतिद्वारा अफ्रिकामा ६० अर्ब डलर सहयोग घोषणा

769
views

भदौ, २० गते । अफ्रिकामा अत्यासलाग्दो ऋणबारे विभिन्न क्षेत्रबाट चासो व्यक्त हुँदै गर्दा चीनका राष्ट्रपति सी चिन फिङले उद्धार गर्ने प्याकेजका स्वरूप ६० अर्ब अमेरिकी डलर बराबर आर्थिक सहयोग दिने घोषणा गरेका छन् । उक्त प्याकेजको घोषणा चीन–अफ्रिका सहकार्य (एफओसीएसी) शिखर सम्मेलन मञ्चबाट भएको थियो । सम्मेलनमा ५३ अफ्रिकी राष्ट्रको सहभागिता रहेको अन्तराष्ट्रिया संचार माध्यम सिएनएनले जनाएको छ ।

यसलाई चीनले आफ्नो प्रभाव अफ्रिकी मुलुकमा विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ । राष्ट्रपति सीले अफ्रिकामा उक्त प्याकेजबाहेक चीन–अफ्रिका व्यापार प्रदर्शनी स्थापना गर्ने, खाद्यान्न सहयोगका लागि एक अर्ब ४६ करोड अमेरिकी डलर सहयोग, अफ्रिकी सामानको चीनमा आयात गर्ने तथा अफ्रिकामा हरित विकास कार्यक्रमका लागि सहयोग गर्ने बताएका छन् ।

कार्यक्रममा चीनले अघि सारेको ‘बेल्ट एन्ट रोड इनिसियटिभ’ (बिआरआई)का लागि अफ्रिकी राष्ट्रलाई आह्वान गरेका छन् । उनले अफ्रिकी व्यापारीहरूलाई दशौँ खर्ब अमेरिकी डलर भौतिक निर्माणका लागि लगानी गरिने बिआरआईमा लगानी गर्नसमेत आग्रह गरेका छन् ।

सन् २००० पछि अफ्रिकी मुलुकहरूले एक खर्ब ३० अर्ब ऋण तथा अन्य सहायता चीनबाट लिएका छन् । उनीहरूले उक्त रकम भौतिक निर्माणसम्बन्धि आयोजनाहरूमा लगाएका छन् । अन्तराष्ट्रिय मुद्रा कोषले केही समय पहिले अफ्रिका कर्जा सङ्कटको सामना गरिरहेको भनी चेतावनी दिएको थियो ।

अहिले चीन अफ्रिकासँगको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ । अफ्रिकामा चीनपछि फ्रान्स, भारत र अमेरिकाले ठूलो लगानी गरेका छन् । चिनियाँ राष्ट्रपति सीले सेनेगल, मौरिसस, रुवाण्डा र दक्षिण अफ्रिकाको भ्रमण गरी उक्त क्षेत्रमा बेइजिङको सहयोगको महत्वपूर्ण उपस्थितिको औचित्य प्रष्ट पार्ने प्रयास गरेका थिए ।