चाइना फाउण्डेसनले कृषि सहकारीमा ३७ लाख ऋण लगानी

743
views

नवलपुर, भदौ २० नवलपुरको देवचुली नगरपालिका–२ दिव्यपुरीमा रहेको सक्रिय साना किसान कृषि सहकारीमा चाइना फाउण्डेसनले ३७ लाख ४४ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।

पाँच रुपैयाँ ब्याज दरमा चाइना फाउण्डेसनले सहकारीलाई उक्त रकम तीन वर्षका लागि लगानी गरेको हो । बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरी दुवै पक्षबीच सम्झौता भएको छ । सम्झौंतापत्रमा फाउण्डेसनकी कन्ट्री डाइरेक्टर ज्यौ, सहकारीकी अध्यक्ष मीना सुवेदी र संयोजक राकेश हमालले हस्ताक्षर गरेका छन् ।
उक्त रकम सहकारी मार्फत् महिलाहरुको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्नका लागि लगानी गरिने छ । महिलाहरुद्वारा सञ्चालित यस सहकारीले पाँच जना महिलाको समूह बनाएर बिना धितो ७० हजार र धितोसहित पाँच लाखसम्म ऋण उपलब्ध गराउँदै आएकोे छ ।
फाउण्डेसनबाट प्राप्त रकम पनि महिलाहरुको आयआर्जन वृद्धि गर्ने काममा लगानी गरिने संस्थाकी अध्यक्ष सुवेदीले जानकारी दिइन् । सहकारीको कार्यक्षेत्रभित्र अधिकांश महिलाहरु कृषि क्षेत्रमा आबद्ध भएकाले तरकारी खेती, पशुपालन, माछापालन जस्ता पेसालाई प्राथमिकता दिएर उक्त रकम लगानी गरिने सुवेदीले बताइन् ।
चाइना फाउण्डेसनले यसअघि नेपालका विभिन्न स्थानमा भौतिक सहयोग र मानवीय सहयोग गर्दै आएको भए पनि सहकारी मार्फत् यसरी ऋण लगानी गररेको नेपालमै पहिलो पटक रहेको फाउण्डेसनकी कन्ट्री डाइरेक्टर ज्यौले बताइन् । आफ्नो संस्थाले विषेशगरी महिलाहरुको जीवनस्तर उकास्ने खालका कार्यक्रम गर्ने र गरिबी निवारण गर्ने उद्देश्य राखेकोले नेपालमा समेत यसै क्षेत्रमा लगानी गरेको बताइन् । उनले रकमको दुरुपयोग नगरी सही ढंगले परिचालन गरी कडा मिहिनेतका साथ काम गरेर उदाहरणीय काम गरेर देखाउन संस्थाका सदस्यलाई आग्रह समेत गरेकी थिइन् ।
रकम संस्थालाई उपलब्ध गराउन संयोजकको भूमिका खेलेका राकेश हमालले देशभरीका सहकारीमा देवचुलीको एउटा सहकारी चुनिनु गर्भको कुरा रहेकाले तीन वर्षभित्रमा संस्थाले परिणाममुखी काम गर्न सके चाइना फाउण्डेसनले निरन्तर सहयोग गर्ने बताए । साथै उक्त रकमको १० प्रतिशत सीमान्तकृत, अल्पसंख्यक र पिछडिएका महिलाहरुको क्षेत्रमा लगानी गरिने सम्झौतामा उल्लेख गरिएको समेत जानकारी गराएका थिए ।
कार्यक्रममा सांसद नेपालीले आफ्नो क्षेत्रको एउटा सानो सहकारीले अन्तराष्ट्रिय संस्थाबाट ऋण पाउनु गर्भको कुरा रहेकाले उक्त रकमलाई भरपुर सदुपयोग गर्न आग्रह गरेका थिए । तीन वर्षमा राम्रो काम गरेर निरन्तर रुपमा सहयोग गर्ने वातावरण सिर्जना गर्न समेत उनले संस्थालाई आग्रह गरेका थिए । यस परियोजनामा सफा सुनौलो नेपाल र सेभ टु एसियाको समेत सहयोग रहेको छ ।