एक साताका लागि पठनपाठन बन्द

659
views

बैशाख, २० । स्थानीय तहको पहिलो चरणमा निर्वाचन हुने ३४ जिल्लाका सवै शैक्षिक संस्थाको पठनपाठन यहि बैशाख २५ गतेबाट एक साताका लागि बन्द हुने भएको छ । निर्वाचन आयोगले स्थानीय निर्वाचनको समयमा सम्पूर्ण शैक्षिक संस्थाको पठनपाठन बन्द गर्न सरकारलाई दिएको निर्देशन अनुरुप बैशाख २५ गतेबाट एक साताका लागि ति जिल्लाका शैक्षिक संस्थाको पठनपाठन पछि पुर्ति गर्नेगरी बन्द गरिने शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले रातोपाटीलाई जानकारी दिए।
डाक्टर लम्सालका अनुसार बैशाख २५ बाट प्रदेश नम्बर ३,४ र ६ का विद्यालयको मात्रै पठनपाठन बन्द हुनेछ । आयोगले अधिकांश विद्यालयमा मतदान केन्द्र तोकेकाले ति विद्यालयको पठनपाठन बन्द गर्नुपरेको मन्त्रालयको भनाई छ ।
यसअघि आयोगले सरकारलाई दिएको १९ बुँदे निर्देशनको १५औं बुँदामा आगामी बैशाख २५ गतेदेखि मतदान सम्पन्न नभएसम्म विद्यालयमा पठनपाठन, परीक्षा सञ्चालन लगायत सबै शैक्षिक क्रियाकलापहरू नगर्न भनेको थियो ।
२०७४ साल बैशाख ३१ गते आइतबार हुने स्थानीय तहको निर्वाचनको लागि मतदानकेन्द्र विद्यालय भवन तथा कम्पाउण्डभित्र समेत राखिएकाले बैशाख २५ गते देखि मतदान सम्पन्न नभएसम्म पठनपाठन, परीक्षा सञ्चालन र सबै शैक्षिक क्रियाकलाप स्थगन गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।