नेपाल–चीन प्रोटोकल बैठकः बन्दरगाह प्रयोग गर्न पाउने संकेत

609
views

काठमाडौँ, २१, भदौ । चीनले आफ्ना सबै बन्दरगाहको प्रयोगको सुविधा नेपाललाई उपलब्ध गराउने सकारात्मक सङ्केत दिएको छ । नेपाल–चीन पारवहन तथा यातायात सम्झौताको प्रोटोकल (कार्यविधि) सम्बन्धी छलफलमा चिनियाँ पक्षले सबै बन्दरगाह र त्यहाँसम्मको सहज रुट प्रयोग गर्न दिने विषयमा खुला भएको हो ।

प्रोटोकलमा १५ वटा आर्टिकलहरू रहेको र त्यसमध्ये आधाभन्दा बढी आर्टिकलहरूमाथिको छलफल बुधबार टुङ्गिएको र बाँकी बिहीबार टुङ्ग्याउने नेपाली टोलीको नेतृत्व गर्नु भएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैंजुले बताए ।

चीनसँगका पछिल्ला वार्ता सकारात्मक र उपलब्धिमूलक बन्दै गएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए । उनले भने ‘खुला हृदयले हामीले प्रस्ताव गरेका छौँ र चीनतर्फबाट पनि खुला हृदयले नै बन्दरगाह प्रयोग गर्न दिने कुरा आएको छ’ । चीनमा ३४ ओटा मुख्य बन्दरगाह र दुई हजारभन्दा बढी साना बन्दरगाह सञ्चालनमा छन् । बैठक आजसम्म जारी रहेको छ ।

दुई वर्षअघि सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहँदा दुई देशबीच पारवहन तथा व्यापार सम्झौता भएको थियो । गत असारमा प्रधानमन्त्री ओली चीन भ्रमणमा रहँदा उक्त सम्झौता कार्यान्वयन गर्ने कार्य्विधिमा हस्ताक्षर हुने भनिए पनि पर्याप्त तयारी नपुगेको भन्दै आगामी असोज १५ गतेभित्र यसलाई टुङ्ग्याउने सहमति भएको थियो । सोही सहमति अनुसार दुई देशबीच यस अघि ल्हासा, बेइजिङ र तेस्रो पटक काठमाडौँमा छलफल भइरहेको छ ।

बैठकमा ल्याउन पाइने सामानको विषयमा पनि छलफल हुनेछ । चीनले पनि नेपालतर्फको सुरक्षा र यातायात प्रक्रियाको बारेमा चासो व्यक्त गरेको छ । नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने प्रस्ताव राखे पनि बढी उपयुक्त हुने त्यान्जान, झियानझिङ र सिगात्से सुख्खा बन्दरगाहको विषयमा छलफल भएको छ । नेपालले चीनको बन्दरगाह उपयोग गर्न पाएको अवस्थामा तेस्रो मुलुकको ढुवानी खर्च कम हुने अपेक्षा गरिएको छ । खासगरी दक्षिण कोरिया, जापान र ती देशको नजिकका देशबाट सामान ल्याउँदा नेपाललाई सहज हुनेछ । त्यस्तै भारतसँगको मात्र निर्भरता पनि घट्दै जाने अपेक्षा गरिएको छ ।