बिबिएको पढाई धौलागिरी क्याम्पसमा

1538
views

बागलुङ, २२ भदौ । धौलागिरी बहुमुखी क्याम्पसमा स्नातक तहमा बाणिज्य शाष्त्रको बिबिएको अध्यापन शुरु भएको छ । त्रिभूवन विश्व विद्यालयको बाणिज्य संकायका डिन सहितको विज्ञ टोलीले गरेको स्थलगत अध्ययन र संभाव्यताको खोजीपछि पढाई थाल्ने सहमति दिएको हो । त्यसका लागि त्रिवि सभाले निर्णय गरेर पठाउने तयारी गरेको छ ।

तस्विरः प्रकाश बराल


उक्त निर्णयपछि धौलागिरी क्षेत्रमापनि पहिलो पटक बिबिएको अध्यापन शुरु हुने भएको छ । आसय पाएपछि विद्यार्थी भर्नाका लागि तयारी गरिएको क्यामपस प्रमुख रामप्रसाद उपाध्यायले बताए । ‘विद्यार्थीले तिर्ने शुल्क र आन्तरिक व्यवस्थापनकै आधारमा कक्षा संचालन गर्ने प्रतिवद्धता पछि पढाउने तयारी गरिएको हो’ उपाध्यायले भने, ‘सेमेस्टर प्रणालीमा संचालन हुने पढाईबाट उत्पादन हुने जनशक्तिले यो क्षेत्रको बिकासमा सहयोग पुग्नेछ ।’ हाल धौलागिरी क्षेत्रका १६ स्थानमा बिबिएस वा व्यवस्थापन संकायका पढाई हु“दै आएका छन् । धेरै विद्यार्थीको आर्कषण समेत भएकोले एक बर्षअघिदेखि तयारी गरिएकोमा सफल भएको उनले बताए ।

बिबिए अध्यापनका लागि क्याम्पसमा वातावरण तयार गर्न पहल थालिएको स्ववियु सभापति मनिष थापाले बताए । ‘हरेक दिन पढाई हुने वातावरण बनाउने, बन्द हट्ताल नगर्ने लगायतको सहमतिमा विद्यार्थी संगठनहरु पुगेका छौं’ थापाले भने, ‘अब राजनीतिक झगडा भन्दा समृद्ध भविष्यका लागि पढ्ने वातावरणमा भूमिका खेल्छौं ।’ उद्योग बाणिज्य, वित्तिय संस्था, राजनीति लगायत सबै क्षेत्रमा कुशल प्रशासक, व्यवस्थापकको आवस्यकता भएकोले पढाईलाई भित्राउन लागेको उनले बताए । पहिलो चरणमा बार्षिक ३५ जना विद्यार्थी अध्यापन गराउने योजना राखिएको छ । त्रिविले बढीमा ६५ जना सम्म अध्यापन गर्न सक्ने गरी अनुमति दिने व्यवस्था छ ।

हाल बागलुङमा मात्र दुइ दर्जन बाणिज्य बैंकहरु खुलेका छन् । त्यतिनै संख्यामा फाईनान्स कंपनी, सहकारी, बिमा कंपनीहरु खुलेका छन् । ती सबै संस्थामा कुलश व्यवस्थापक र प्रवन्धकको आवस्यकता हु“दा पढाईको माग पनि बढेको हो । उद्योग, व्यपारीले संचालन गरेका फर्ममा पनि कुशल व्यवस्थापकको खोजी भैरहेको उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले बताए । ‘हरेक फर्महरु व्यवस्थित रुपमा संचालन गर्न चाहेका लगानीकर्ताले पनि त्यस्ता जनशक्तिलाई रोजगारी दिन सक्छन्’ भारीले भने, ‘आर्थिक समृद्धिको अभियानमा यो शिक्षा महत्वपूर्ण हुनेछ ।’ हाल धौलागिरी बहुमुखी क्याम्पसमा शिक्षा, मानविकी र बाणिज्य शाष्त्रमा स्नातकोत्तर तहसम्मको पढाई भैरहेको छ । त्यस्तै बिज्ञानमा स्नातक सम्मको पढाई शुरु भएको छ ।