सरकारको कार्यशैलीले कम्युनिष्ट भन्नै लाज–कार्की

855
views

भदौ २४, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता राम कार्कीले वर्तमान सरकारको कार्यशैलीले आफूलाई कम्युनिस्ट पार्टीको नेता हुँ भन्न समेत लाज लाग्ने अवस्था आएको टिप्पणी गरेका छन् ।

कार्कीले वर्तमान सरकार कम्युनिस्ट चरित्रको नभएको पनि आरोप लगाए । बुटवलको एक कार्यक्रममा बोल्दै कार्कीले मुलुकमा दुई तिहाई बहुमतप्राप्त कम्युनिस्ट नेतृत्वको सरकार छ तर मजदुरहरुको जीवन कष्टकर बन्दै गएको बताए ।

कार्कीले राजाहरुमध्ये सबैभन्दा शक्तिशाली ज्ञानेन्द्रलाई जनताले ५ वर्ष टिक्न नदिएको स्मरण गराउँदै अहिलेको सरकार पनि ५ वर्ष नटिक्ने हो कि भन्ने आशंका लाग्न थालेको उललेख गरे ।

सत्तारुढ दलकै अर्का नेता घनश्याम भुसालले माक्र्सवादी विचार र सिद्धान्त अनुरुप आफूलाई रुपान्तरण गर्न नसके कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार धरापमा पर्नसक्ने चेतावनीे दिए ।

समाजवादसम्मको गन्तब्य तय गरेको दुई तिहाई बहुमतको कम्युनिस्ट सरकारका गतिविधि समाजवाद उन्मुख नदेखिएको भन्दै उनले नेतृत्वको यस्तै रवैया रहिरहे वर्तमान सरकार धेरै दिन टिक्न मुस्किल पर्ने समेत औंल्याए ।

कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोह, राष्ट्रिय समितिद्वारा शनिबार रुपन्देहीको मणिग्राममा आयोजित गोष्ठीमा बोल्दै भुसालले पार्टी नेतृत्वलाई कार्यशैली बदल्न सुझाव दिए । दुई तिहाई बहुमतप्राप्त सरकार मात्रै उपलब्धि नभएको भन्दै उनले यसको सदुपयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।