बेगनास तालमा डुंगा डुबेर बेपत्ता भएका ६ जनाकै शव भेटियो

1384
views

सबिता शर्मा ।
पोखरा, २४ भदौ । बेगनास तालमा शनिवार डुंगा डुबेर बेपत्ता भएका ६ जनाकै शव भेटिएको छ ।उनीहरुको शव घटनास्थल नजिकै भेटिएको प्रहरीले जनाएको छ । तीजको दर खाने कार्यक्रममा सहभागी हुन जाने क्रममा १० जना सवार डुंगा डुबेको थियो । डुंगा डुबेपछि शनिबारै उपचारका क्रममा दुईको मृत्यु भएको थियो ।

डुंगा डुब्दा नवलपुर गैडाकोटका ३२ वर्षीय रवि खनाल, उनका ८ र ७ वर्षका छोराहरु शंकर खनाल र शिव खनाल, तनहुँको भीमाद–४ का ४ वर्षीय रन्जित गैरे, पोखरा– ३१ बेगनासका ५ वर्षका प्राचीन पौडेल र पोखरा नयाँ बसपार्ककी १८ वर्षीया मनिसा बजगाई बेपत्ता भएका थिए ।

भीमादकी २८ वर्षीया जमुना गैरे र पोखरा नयाँ बसपार्ककी ५० वर्षकी कृष्णकुमारी बजगाईको उपचारका क्रममा शनिबार नै अस्पतालमा मृत्यु भएको थियो ।

स्थानीय जलारी समुदाय, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सर्वसाधारण र बेपत्ताका आफन्तजनले खोजी गर्ने क्रममा उनीहरुको शव भेटिएको कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।