सुन्दर सपना देखाउने विद्यालयनै अन्धकारमा

1148
views

अजय पौडेल, नवलपुर भदौ– २६ गैँडाकोट नगरपालीका ३ ढोडेनीमा रहेको श्रीकृष्ण गण्डकी माध्यामिक विद्यालयमा साढे ४ सय विद्यार्थी सुन्दर सपनाको खोजीमा छन् । तिनै विद्यार्थीलाई सुन्दर सपना देखाउने विद्यालयनै अन्धकारमा छ ।

विद्यालयलाई बाटोको समस्या, आर्थिक समस्या, भौतिक पूर्वाधारको समस्या मात्र होइन शिक्षकको दरबन्दी नहुँदा वर्षेनी लाखौँ रकम जुटाउन धौधौ छ । पूर्वपश्चिम राजमार्गबाट ९/१० किलोमिटर उत्तर तर्फ जंगलको बीचमा रहेको ढोडेनी गाउँमा अवस्थित श्रीकृष्णगण्डकी माध्यामिक विद्यालयमा साढे ४ सय विद्यार्थी सुन्दर सपनाको खोजीमा अध्ययनरत रहेका छन् । माध्यामिक विद्यालयको रुपमा सञ्चालित यस विद्यालयमा निमावि र मावि तहमा कुनै पनि दरबन्दी नहुँदा शिक्षकको व्यवस्थापन समस्या बनेको छ । प्राविको स्थायी दरबन्दी ३ जना, प्राविको राहत ३ जना, निमावि राहत १ जना र निजिस्रोतबाट ७ शिक्षक रहेका छन् । वर्षेनी निजिस्रोतका शिक्षकको व्यवस्थापनका लागि करिब १६ लाख जति व्ययभार विद्यालयले धौधौले जुटाउने गरेको विद्यालयका प्रधानाध्यापक सूर्यनाथ तिवारीले बताउनुभयो । विद्यालयमा शिक्षा नियमावलीको नियमअनुसार १४ जना शिक्षकको दरबन्दी आवश्यक हुने गैँडाकोट शिक्षा शाखाका उपसचिव राजु बानियाले बताउनुभयो । वानियाका अनुसार शिक्षा नियमावलीले प्राथमिक तहमा ५ जना, निम्न माध्यामिक तहमा ४ जना, माध्यमिक तहमा ५ जना शिक्षक आवश्यक हुने बताएको छ । दरबन्दी नेपाल सरकारले उपलब्ध गराउनुपर्ने हो तर अहिले स्थानीय तहमा दरबन्दीदिने अधिकार नभएको वानियाको बताउनुभयो ।