सगरमाथा हेर्न भ्यू टावर बन्दै

1696
views

उदयपुर, २७ भदौ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा विश्वकै सर्वोच्च शिखर सगरमाथा अवलोकनका लागि एभरेष्ट भ्यू टावर निर्माणको कामलाइ अगाडी सारेको छ ।

सो टावरको निर्माणसँग गाउँको समृद्धि पर्यटनलाई जोड्ने मुख्य उद्वेश्य बनाइएको छ । यसै सिलसिलामा दोबाटे भ्यू टपमा लिम्चुङबुङ पार्कसँगै निर्माण हुन लागेको भ्यू टावरको डीपीआर सर्भेको थ्रीडी प्लान भिडियो क्लिप तयार भएको गाउँपालिकाका प्रमुख मेजरकुमार राईले बताए ।

सो भ्यू टावर २७ फिट अग्लो हुने र महालङ्गुर हिमशृङ्खलाको अवलोकन गर्न सकिने बताइएको छ । टावरबाट सगरमाथा, कन्चनजङ्गा, मकालु, जुगल, गौरीशङ्कर, चोयो, चारपाटे हिमाल, ल्होत्सेलगायतका हिमाल, सुनकोसी, हलेसी आँगनमा, तुवाचुङ, दिक्तेल, भोजपुर, सोलु, ओखलढुङ्गा र परपरका तराई मधेसका फाँटहरू देखिन्छन् । मनमोहक दृश्यहरू दूरबिनबाट नजिकै ल्याएर अवलोकन गर्ने व्यवस्था गरिनेछ ।

उदयपुरमा किराँत समुदाय र भाषाको बाहुल्य रहेकाले उनीहरूको संस्कृतिलाई महत्व दिँदै टावरको माथिल्लो भागमा वाबु (चिन्डो) राखिने र टावरको चार भागमा बुद्ध, शिव, माङ्खिमलगायतका सबै जाति, धर्म, संस्कार, संस्कृतिका प्रतीक राखिनेछन् । तामाङ र शेर्पा समुदायको पुरानो उद्गम थलोको इतिहासलाई जीवित पार्न पार्कको तल्लो भागलाई बुद्ध कलर गरिने भएको छ ।

टावरसँगै एक ग्राउन्ड हल बन्ने र हलमा चिया, कफी लिँदै बस्ने र हलका भित्तालाई अध्ययनमूलक चित्रहरूले सजाइनेछ । खासगरी टावरबाट अवलोकन हुने हिमशृङ्खला, पालिकाका पर्यटकीय स्थान, मठमन्दिर, मूर्तिकृति र जैविक वस्तुको चित्र बनाइनेछ । भ्यूटावर निर्माणका लागि गाउँपालिकाले दुई करोड बजेट विनियोजन गरेको जनाएको छ ।