दाताको १३ करोडले त्रिविको मानवशास्त्र विभागमा खैलाबैला

907
views

काठमाडौं २८ भदौ । नेपालमा समावेशिताको अवस्था अध्ययन गर्न भन्दै युएसएडसँग लिएको १३ करोड रुपैयाँले त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागमा खैलाबैला मच्चिएको छ । मानवशास्त्र केन्द्रीय विभागका प्राध्यापकले अनियमित तरिकाले प्रोजेक्ट चलाएर रकम हिनामिना गर्न खोजेको भन्दै विद्यार्थीले विरोध गरेका हुन् ।

विभागमा पठनपाठन नै बन्द भयो । चर्को विरोधपछि विभागीय प्रमुखले राजीनामा नै दिनुपर्ने अवस्था आयो । प्रा।डा। लयप्रसाद उप्रेतीले विभागीय प्रमुखबाट राजीनामा दिएका हुन् । अहिले उपप्राध्यापक डा. डम्बर चेम्जोङलाई विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ ।

त्रिवि कार्यकारी परिषद्बाट परियोजना सञ्चालनको स्वीकृति नलिएको, त्रिविलाई १० प्रतिशत रकम नदिएकोजस्ता विषयले विवाद बढाएको हो । विदेशी निकायसँग रकम लिएर परियोजना सञ्चालन गर्दा त्रिविबाट स्वीकृति लिनुपर्ने र त्रिविलाई १० प्रतिशत रकम दिनुपर्ने नियम छ । परियोजनाका लागि भन्दै आंशिक शिक्षकसमेत त्रिविको अनुमतिविनै नियुक्त गरिएको विद्यार्थीहरूको आरोप छ ।

युएसएडसँग ‘नेपालमा सामाजिक समावेशिताको अध्ययन’ नामको परियोजनाका लागि झन्डै १३ करोड बजेट उपलब्ध गराउने गरी सन् २०१७ मा सम्झौता भएको थियो । सो परियोजनामा तत्कालीन विभागीय प्रमुख प्रा.डा. लयप्रसाद उप्रेती प्रोजेक्ट को–अर्डिनेटर भएर काम गरेका थिए ।

परियोजना सञ्चालनका लागि डा। मुक्तासिंह लामालाई आंशिक शिक्षकमा नियुक्त गरी रिसर्च डाइरेक्टरको जिम्मेवारी दिइयो । तर, विभागले त्रिविबाट स्वीकृति नलिई लामालाई आफूखुसी नियुक्त गरेको विषयले खैलाबैला सुरु भयो । जबकि, आंशिक शिक्षक नियुक्त गर्दा त्रिविबाट सहमति लिनुपर्ने व्यवस्था छ । प्राध्यापकहरूले बाहिरबाट प्रोजेक्ट लिएर आर्थिक लाभमा लाग्ने, तर पढाउनमा ध्यान नदिँदा विद्यार्थी घटिरहेको आरोप छ । त्रिविको लेटरप्याड र लोगो दुरुपयोग गरी व्यक्तिले आर्थिक चलखेल गरेको विद्यार्थीहरूको आरोप छ ।

रेक्टरबाट नो अब्जेक्सन, रजिस्ट्रारबाट खाता खोल्न अनुमति
विदेशी रकममा परियोजना सञ्चालन गर्न त्रिवि कार्यकारी परिषद्बाट स्वीकृति लिएर कुल बजेटको १० प्रतिशत पनि बुझाउनुपर्छ । यस आधारमा ३० करोडको परियोजनाको एक करोड ३० लाख त्रिविलाई दिनुपर्ने हुन्छ । यही रकम नदिनका लागि स्वीकृति छलिएको आरोप विद्यार्थीको छ । तर, परियोजना सञ्चालनका लागि त्रिविका रेक्टरले नो अब्जेक्सन लेटर र रजिस्ट्रारले खाता खोल्न अनुमति दिएका छन् । नयाँपत्रिकाबाट