एसपी र डिएसपीको डिएनए टेस्टको माग

1040
views

काठमाडौं । निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटनाको ढाकछोप गर्न प्रहरी नै सक्रिय रहेको भन्दै उनका आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट र डिएसपी ज्ञानबहादुरको सेठीको डिएनए परीक्षण गर्न माग गरेका छन् ।

प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलीप बिष्ट निर्दोष ठहर भएपछि स्थानीयले दोषी बचाउन निर्दोष फसाउने प्रहरी अधिकारी नै घटनामा संलग्न रहेको आशंका मजबुत भएको बताएका छन् ।

‘एसपी बिष्ट, डिएसपी सेठी र सिआइबीका डिएसपी अंगुर जिसीलाई निलम्बन मात्र होइन, हिरासतमा राखेर अनुसन्धान गरिनुपर्ने आफन्तहरुको माग छ । उनीहरुले भीआईपीहरुको डिएनए टेष्ट मात्रै अनुसन्धानको भरपर्दो विकल्प रहेको बताएका छन् ।

आफन्तले उनीहरूको कल डिटेल समेत हेर्न माग गरेका छन् अनुसन्धानमा खटिएका प्रहरी टोलीलाई हिरासतमा राखेर अनुसन्धान गर्न पनि माग गरेका छन् । एसपी बिष्ट, डिएसपी जिसीलगायतका अनुसन्धानमा संलग्न प्रहरी टोलीलाई हिरासतमा राखेर अनुसन्धान गरेमात्र निर्मला हत्याको दोषी पत्ता लाग्ने उनकी आमा दुर्गादेवीले बताइन् । निर्दोषलाई फसाएर दोषी बचाउने प्रहरी नै मेरी छोरीको हत्यामा संलग्न छन्,’ दुर्गादेवीले भनिन्, ‘प्रहरीभित्रका मान्छेलाई हिरासतमा राखेर अनुसन्धान गरेमात्र छोरीको हत्यारा पत्ता लाग्न सक्छ ।’

निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणका दोषीहरु पत्ता नलागेपछि निर्मलाका आमाबाबु न्याय खोज्दै काठमाडौं आएका छन् । उता अनुसन्धानका लागि हिरासतमा लिइएका मानसिक सन्तुलन ठीक नभएका दिलिपसिंह विष्टको डीएन्ए फरक भएकाले उनी दोषी नभएको ठहर सहित घर फर्काइएका छन् । निर्मलाका साथी भनिएका बम दिदीबहिनीहरु पनि घर फर्काइएका छन् ।