३३७ ट्याक्सी कारबाहीमा

793
views

काठमाडौँ, २८ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको विशेष अभियानअन्तर्गत ३३७ ट्याक्सी कारबाहीमा परेका छन् । भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो ।

महाशाखाले यही भदौ २१ गतेदेखि उक्त अभियान सञ्चालन गर्दै आएकोे छ । भदौ २१ मा ७१, २२ मा ६१, २३ मा ५१, २४ मा ४०, २५ मा ४१, २६ मा ४९ र २७ मा २४ ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरिएको थियो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सी चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

महाशाखाले विशेष अभियान सञ्चालनका लागि ५० ट्राफिक प्रहरी खटाएको छ । नियन्त्रणमा लिएका ट्याक्सीलाई यातायात व्यवस्था विभागद्वारा प्रत्यायोजित अधिकार अन्तर्गत रु तीन हजारसम्म जरिवाना गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टले ठमेल, शिक्षण अस्पताल, माछापोखरी, कलङ्की, कोटेश्वर, विमानस्थललगायतका क्षेत्रमा बढी ट्याक्सीबाट ठगी हुने गरेको पाइएको बताए ।

यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी सञ्चालन हुन्छ ।