काँग्रेस केन्द्रिय कार्यसम्पादन समिति गठन गर्दै

1080
views

काठमाडौँ, २८ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टीको आन्तरिक सांगाठानिक संरचना तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्यरुपमा पार्टीको केन्द्रीय अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने कार्य सूची रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

फाईल तस्विर


यसअघिको केन्द्रीय कार्यसमिति बैठकमा नै अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन गठन गर्ने भनिएपनि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति हुन नसक्दा गठन हुन सकेको थिएन । संस्थापन पक्षले अनुशासन समितिको संयोजकमा केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेलाई जिम्मेवारी दिने तथा सदस्यमा वीरबहादुर बलायर र किशोरसिंह राठौरलाई तोक्ने तयारी गरेको बुझिएको छ । अनुशासन समितिको संयोजकमा वरिष्ठ नेता पौडेल पक्षको पनि दावी रहेको बुझिएको छ ।

पार्टी विधानको दफा २९ मा केन्द्रीय कार्यसम्पादन समिति गठनको व्यवस्था छ । विधानअुनसार केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी (सभापति, उपसभापति, दुई महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र प्रवक्ता) पदेन सदस्य हुन्छन् । यसबाहेक केन्द्रीय कार्यसमितिले आफूमध्येबाट बढीमा २२ सदस्य चयन गर्ने विधानमा व्यवस्था छ । विधानअनुसार केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्काे बैठकको अन्तरमा केन्द्रीय कार्यसमितिले गर्नुपर्ने काम कार्यसम्पादन समितिले गर्नेछ ।

केन्द्रीय समिति १५१ सदस्यीयसम्म बनाउने सुझाव
पार्टीको विधान समयानुकूल परिमार्जनका लागि प्रारम्भिक मस्यौदा तयार गर्ने क्रममा काँग्रेसको केन्द्रीय कार्यसमिति ११० देखि १५१ सदस्यीयसम्म बनाउन सुझाव आएको छ । त्यस्तै आठ तहका पार्टी संरचना बनाउने गरी काङ्ग्रेसले विधान संशोधन मस्यौदाको तयारी गरेको छ ।

केन्द्रीय समितिमा पदाधिकारी निर्वा्चित वा मनोनीत दुवै विकल्पका बारेमा समेत छलफल अघि बढेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । संघीय संरचनाअनुसार पार्टीका सङ्गठनात्मक संरचनालाई पुनःसंरचना गर्न काँग्रेसले विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा यही भदौ ७ गते पार्टी विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

समिति गठन भएयता आफ्नो कार्यविधि स्वीकृत गरी विधान संशोधनका आधार तय गर्नुका साथै पार्टीका विभिन्न निकाय, भ्रातृ एवं शुभेच्छुक संस्था, जनसम्पर्क समितिलगायत सरोकारवालाबाट सुझाव लिइसकेको छ । काँग्रेस नेता एवं विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले समितिले प्रारम्भिक मस्यौदालाई तीन दिनभित्र एकीकृत गरी प्रदेशस्तरको छलफलमा लैजाने बताए ।

प्रदेशस्तरमा अन्तक्र्रियापछि प्रारम्भिक मस्यौदामा प्राप्त सुझावका आधारमा अन्तिम मस्यौदा तयार गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पेश गर्ने नेता लेखकले बताउनुभयो । मुलुकको नयाँ संरचनाअनुसार काँग्रेसले वडा तहभन्दामुनि बुथ, वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश, केन्द्र तहसम्मको संरचना र केन्द्रीय समितिभन्दा माथि महाधिवेशन तथा महासमिति रहने गरी पार्टी संरचना बनाउने बारेमा छलफल जारी रहेको उनले बताए ।

यही भदौ ९ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले विधान संशोधनका लागि महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ सम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।