हिन्दू नारीहरुले आज ऋषिपञ्चमी पर्व मनाउँदै

543
views

पर्वत, २९ भदौ । आज भाद्र शुक्ल पञ्चमीका दिनमा वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले ऋषिपञ्चमी पर्व सप्तर्षिको पूजा गरी मनाउँदैछन् । हिन्दु नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् ।

रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आजको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।