किराँत राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’

1862
views

भदौ २९ गते । किराँत राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शिरफुल)को विशेष प्रदर्शन किराँत राई यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वरस्थित सुम्निमा हलमा भोलि भदौ ३० गते हुने भएको छ ।

यो चलचित्रमा किराँतीहरूको परम्परागत मूल्य–मान्यतालाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ । शीर्षक किराँती सभ्यता र भाषाबाट लिइए पनि यो चलचित्र नेपाली भाषामा छ । पूर्वी नेपालको उच्च पहाडी भेगको गाई तथा चौरी गोठको संस्कृतिलाई पनि चलचित्रमा समेटिएको निर्देशक भगिराज राईले बताए ।

राई भाषामा सायाबुङको अर्थ अप्ठेरोमा फूल्ने फूल हुन्छ । हिमाली भेगमा गोठ राख्ने चलन छ, जुन बस्ती भन्दा धेरै टाढा हुन्छ । त्यही गोठ राखिने सुदूर ठाउँमा रहेको युवा र बस्तीकी युवतीबीचको प्रेमकथा यो चलचित्रको मुख्य विषय हो ।

चलचित्रको छायाँङ्कन पूर्वी नेपाल–भारत सिमाना सन्दकपुर, फालेलुङ, सिदिन, सिलौटी, लब्रेकुटी तथा भारतको मणिपुरका रमणीय स्थानहरूमा गरिएको छ । सौजन सुब्बा, निशा राई, सगुन सुसारा, साया राई, राहुल राई, दर्पण राई, उमेश राई तथा दिव्य आङ्देम्बेले अभिनय गरेको चलचित्र सायाबुङको निर्माण साया राईले गरेका हुन् ।

भगिराज राईको लेखन तथा निर्देशन, भक्त सुनुवार र उदय नेम्वाङको संगीतको यो चलचित्रलाई देवजंग थापाले सम्पादन गरेका छन् । यो चलचित्रका गीतमा दीपक लिम्बू, रजिना रिमाल, दिपा लामा, उदय नेम्बाङ, गौरिमान राई तथा भगिराज राईको स्वर सुन्न सकिन्छ ।