पहिरोले खोला थुनिदा कयौँ बस्ती जोखिममा

826
views

बागलुङ भदौं ३० बाग्लुङको बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानाको तुरतुरै डाँडाबाट ठुलो पहिरो खस्दा बडिगाड खोला थुनिएको छ ।

मध्यराति १२ बजे गएको पहिरोले बडिगाड खोला थुनिएको हो । पहिराले थुनिएपछि खोलामा ठुलो ताल बनेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । मध्यरातमा झरेको पहिरोले बडीगाड खोलो पुरै थुनिएको प्रहरीको भनाई छ ।
राति ११ बजेको समयमा माथिबाट सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्गसमेत अवरुद्ध भएको छ। घटनापछि क्षतिको एकिन विवरण आउन बाँकी छ । प्राप्त जानकारी अनुसार त्यही स्थानमा रहेको एक गोठ र गोठमा भएका २ वटा गोरु खोलो थुनिएर बनेको तालमै परेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए ।

पहिरो मध्य पहाडी लोकमार्ग भन्दा १० मिटर माथिसम्म थुप्रिएकाले सबैलाई सजक हुन प्रशासनले आग्रह गरेको छ । मध्य पहाडी लोकमार्ग भन्दा ७ मिटर तलसम्म पानीको बाहव आएकाले तल्लो बस्ती भिमगिठे, खाल र खारका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ ।
पानी तालबाट बाहिर जाने क्रम रोकिएकाले अहिले सम्म १ किलो मिटरसम्म पानीको ताल फैलिएको छ । पानीको बहाव बढेसँगै त्यसभन्दा माथिको बस्ती समेत जोखिममा रहेको छ ।
बडिगाड खोलो थुनिएपछि गुल्मीको मुसिकोट नगरपालिकामा पर्ने बामी, भुवाचिदी, आँपचौर, ग्वादीका चाग्वालीचौर खैरेनी, रिडी लगायत क्षेत्रका बासिन्दा जोखिममा परेको स्थानीयले बताएका छन् ।
पहिरो खसेर ताल बनेको क्षेत्रमा गुल्मी र बाग्लुङको प्रहरीको टोली खटेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर बस्न प्रशासनले आग्रह गरेको छ ।