तेक्वान्दोको विवाद समाप्त हुन्छ – मन्त्री सुनार

639
views

काठमाडौ, ३१ भदौ । राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि चितवनले जितेको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति काठमाडौंद्वारा आयोजित प्रतियोगितामा चितवनले ५ स्वर्ण र १ रजत जित्दै उपाधिमाथि कब्जा जमाएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा ५ स्वर्ण जितेको काठमाडौं दोश्रो भयो । तेश्रो स्थानमा रहेको भक्तपुरले ३ स्वर्ण र १ रजत जितेको थियो ।

एक दिन प्रतियोगितामा विभिन्न १६ तौल समुह र ४ पुम्सेमागरि २० समुहमा प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगितामा २ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । २० स्वर्ण, २० रजत र ४० काँश्यको लागि भएको भिडन्तमा सात प्रदेशका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ ललितपुरका साजन महर्जन र महिलातर्फ रुपन्देहीकी समिक्षा बुढाथोकी उत्कृष्ट खेलाडी चुनिएका थिए ।

सो अवसरमा वरिष्ठ खेलकुद पत्रकार श्रीविक्रम भण्डारी र राष्ट्रिय खेलकुद परिषद कानुन शाखाका प्रमुख नारायणराज अर्याललगायतलाई सम्मान गरिएको थियो । भण्डारी र अर्याललाई युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनारले सम्मानपत्र प्रदान गरेका थिए । भण्डारी राष्ट्रिय तेक्वान्दो संघका केन्द्रिय संघका प्रेस सल्लाहकार हुन भने अर्याल कानुनी ।

समापन समारोहका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष शिव कोइराला, महासचिव राजकुमार कार्कीलगायतले विजेताहरुलाई पुरस्कृत गरेका थिए । सो अवसरमा मन्त्री सुनारले उत्कृष्ट खेलको प्रदर्शन गर्दै राष्ट्रिय, अन्तर्रा्ष्ट्रिय खेलाडी बन्नको लागि खेलाडीहरुलाई शुभकामना दिएका थिए । साथै तेक्वान्दो खेलको विवाद चाडै समाधान गर्ने र एउटै तेक्वान्दो संघ हुने सो अवसरमा बताएका थिए । त्यसको लागि आफुहरुले होमवर्क गरिरहेको समेत मन्त्री सुनारले बताए ।

सो अवसरमा काठमाण्डौं जिल्ला कार्यसमितिका अध्यक्ष विनय महतले आफुले पाएको जिम्मेवारीलाई कुशलता पूर्वक निभाएको भन्दै यसले अन्य जिल्ला संघमा सकारात्मक संदेश जाने बताए । छोटो समयमा पनि प्रतियोगिता सफलताका साथ सम्पन्न भएकोमा प्रसन्नता प्रकट गर्दै महतले भने यो शुरुवात हो, यो प्रतियोगिताले धेरै पाठ सिकाएको छ, भविष्यमा अँझ स्तरीय प्रतियोगिताको आयोजना गर्ने बताए । साथै प्रतियोगिता सफल पार्न केन्द्रिय संघका पदाधिकारीहरुको सहयोगप्रति आभार प्रकट गरेका थिए । त्यस्तै संघ सचिव रोशन वोहराले यो प्रतियोगितामा सातै प्रदेशका खेलाडीलाई सहभागिता गराउनु ठूलो उपलब्धि भएको वताए । प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गरेका थिए ।