आँधीका कारण अमेरिका र फिलिपिन्समा ३९ को मृत्यु

673
views

वासिङटन, ३१ भदौ । फिलिपिन्सको उत्तरी क्षेत्र र अमेरिकाको क्यारोलिना क्षेत्रमा आएको आँधीका कारण आइतबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ । शक्तिशाली ‘माङ्खुट’ आँधीबाट फिलिपिन्समा मात्रै मृत्यु हुनेको संख्या २८ पुगेको स्थानीय अधिकारीहरुले आइतबार जनाएका छन् ।

राष्ट्रपतिका राजनीतिक सल्लाहकार फ्रान्सीस टोलेन्टीनोले स्थानीय एक रेडियोलाई दिएको अन्तर्वार्तामा कोर्डिलेरा प्रशासनिक क्षेत्रमा २०, नुएभा भिजाय प्रान्तमा चार जना र इलोकोज क्षेत्रमा एक जनाको मृत्यु भएको जानकारी दिनुभयो । थप अरु केहीको पनि मृत्यु भएको हुन सक्ने उहाँले आशंका गर्नुभयो ।
मृत्यु भएका मध्ये बागुओ सहरका एउटै परिवारका छ जना भएको बताइएको छ । उनीहरुको घर भत्किएर मृत्यु भएको समाचारमा जनाइएको छ । यस आँधीबाट फिलिपिन्समा मात्र ४० लाखभन्दा बढीलाई प्रभावित पार्ने देखिएको छ ।

आँधीपछि त्यो क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन् । यो आँधी हाल हङकङ र चीनको पूर्वी भेगमा प्रवेश गरेको छ ।

त्यसैगरी अमेरिकाको क्यालिफोर्नियामा फ्लोरेन्स नाम दिइएको वर्षासहितको आँधीका कारण आइतबारसम्म कम्तीमा १३ जनाको मृत्यु भएको छ । आँधीले अमेरिकाको उत्तरी तथा दक्षिणी क्यारोलिनामा भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको अधिकारीहरुले बताएका छन् ।

दक्षिण क्यारोलिनाको ह्याम्स्टेडमा एक महिलाको हृदयघात भएर मृत्यु भएको छ । आँधी आएपछि हृदयाघात भएकी उनलाई घरबाट उद्धार गर्न समेत कठिनाइ भएको बताइएको छ । स्थानीय हजारौं स्थानीय बासिन्दालाई सुरक्षित शिविरहरुमा लगिएको छ भने दशौँ लाख मानिस विद्युत सेवाबाट वञ्चित भएका छन् । मौसम अधिकारीहरुले हावाको बेग ११० किलोमिटर प्रतिघण्टा रहेको बताएका छन् । उनीहरुका अनुसार कतिपय ठाउँमा ठूलो वर्षासमेत भएको छ ।