कर्णाली गरीब थिएन तर बनाइयोः मुख्यमन्त्री शाही

1079
views

सुर्खेत, ३१ भाद्र । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली क्षेत्र गरीब हुनुमा दातृ निकाय तथा गैह्र सरकारी संस्था भएको सङ्केत गर्दै कर्णाली गरीब नभएको तर गरीब बनाइएको टिप्पणी गरेका छन् ।

मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशद्वारा आयोजित ‘स्थानीय तह न्यायिक समितिका पदाधिकारी तथा कर्मचारी’ को क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली क्षेत्रलाई गरीब बनाइएको जिकिर गरे ।

मुख्यमन्त्री शाहीले भने ‘हामीसँग पवित्र मुहान छन् तर पानी किनेर खान्छौँ, कोदो, कागुनो, चिनो बिर्सेर बिस्कुट चियातिर लागेका छौंँ ।’

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले हिजो न्यायको ढोकामा पुग्न नपाएका अधिकांश महिला आज न्याय दिलाउने नेतृत्व आफैले गर्नु गणतन्त्रात्मक शासन व्यवस्थाको सवल पक्ष भएको बताए ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संविधान र कानूनले न्यायिक समितिका संयोजकलाई महत्वपूर्ण जिम्मेवारी दिएको तर्क गर्दै न्यायको तराजु सबैलाई समान गर्न आग्रह गरे । भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले सदियौंदेखिको सङ्घर्षबाट यो व्यवस्थामा महिलाले न्यायमूर्तिको काम गर्ने अवसर पाएकोले यसमा कत्ति पनि बिचलित नहुन सुझाईन् ।

कार्यक्रममा मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धर र जिल्ला समवन्य समितिका प्रमुख छविलाल सिग्देलले न्याय सम्पादनका लागि न्यायिक समितिका पदाधिकारीलाई कानूनी प्रशिक्षण आवश्यक रहेको बताए ।