म्याग्दीमा ४० मेगावाटको रघुगङ्गा आयोजना निर्माणको काम शुरु

770
views

म्याग्दी, १, असोज । म्याग्दीमा ४० मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम शुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको आयोजना निर्माणका लागि ६ अर्बमा २०७४ मङ्सिर ५ गते ठेक्का सम्झौता गरेको भारतीय निर्माण कम्पनी जेपी एशोसियट्शले प्रारम्भिक चरणको काम शुरु गरेको हो ।

ठेकेदार कम्पनीले डिजाइनको काम सकेर बाँध, सुरुङसम्म पुग्ने सडक निर्माण र व्यवस्थापकीय काम शुरु गरेको रघुगङ्गा हाइड्रोपावर लिका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिएका छन्। उनका अनुसार मनसुन सकिएलगत्तै बाँध, सुरुङ र विद्युत्गृहको काम एकैसाथ अघि बढाउने कार्ययोजना बनाएको ठेकेदारले पूर्वतयारीको कामलाई तीव्रता दिएको छ ।

प्रवेशबिन्दु घुमाउनेतालदेखि पिप्लेतर्फ ६०० मिटर सडकको ट्याक खुलेको छ । आवासगृह भवन निर्माण र विद्युत्गृह क्षेत्रमा काम गर्नका लागि झाडी, रुख हटाउने र उपकरण जुटाएर तयारी अवस्थामा राखेको छ ।

ठेक्का सम्झौताको स्वीकृतिका लागि ऋण लगानीकर्ता भारतीय एक्जिम बैंकले छ महिना लगाउँदा ठेकेदार परिचालनमा ढिलाइ भएको हो । सिभिल निर्माणको काम ३९ महिनामा सम्पन्न गर्ने सम्झौता भएको छ ।

पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियाबाट अघि बढाइएको आयोजनामा विगत नदोहोरियोस् भन्ने सरोकारवालाको अपेक्षा छ । सो आयोजना यसअघि ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पुर्याइएको हो ।